९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दसै तिहारमा दोब्बरले नागरिकता र राहादानी लिए, झण्डै ७५ लाख राजस्व संकलन



शिवलाल सुवेदी, गुल्मी ।
चाडपर्वको समयमा गुल्मीमा दोब्बरले नागरिकता र राहदानी लिएका छन । जिल्ला प्रशासन कार्यालय गुल्मीको तथ्याङ्ग अनुसार दशै र तिहारको समयमा दोब्बरले नागरिकता र राहदानी बनाएका हुन् । असोज १ गतेदेखि देखि कार्तिक २५ गतेसम्म मात्रै १ हजार ४ सय ८४ जनाले नयाँ र ६ सय ६३ जनाले नागरिताको प्रतिलिपी लिएका छन् । बैवाहिक अंगिकृत नागरिकता एकजना र नाबालक परिचयपत्र १ सय जनालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जुन यस आर्थिक बर्षको अघिल्ला दुई महिनाको तुलनामा दोब्बर भन्दा पनि धेरै हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक बर्ष ०७५÷०७६ को अघिल्लो दुई महिना साउन र भदौमा नौ सय १४ नागरिकता वितरण गरेको थियो । जसमध्ये चार सय ३१ नयाँ र चार सय ८३ नागरिकताको प्रतिलिपी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तुल्सी न्यौपानेले जानकारी दिएका छन । वुटवलमा ब्यापार गरी बस्ने गुल्मीको मदाने गाउँपालिका ७ भनभनेका विष्णु पन्थीले दशै घर आएको मौकामा जिल्ला प्रशासन कार्यालयमा श्रीमतीको नागरिकता बनाइ दिएको बताए । अन्य समयमा घर आउन पनि नभ्याउने भएकोले अहिले आएको थिए उनले भने‘ चाडपर्वको वेला अत्यधिक भिडभाड हुँदो रहेछ ।

उनीजस्तै गुल्मी दरबार गाउँपालिकाका विष्णु बहादुर राना वैदेशिक रोजगारीको शिलसिलामा परदेश थिए । राना दसैँदेखि घरमा छन् । कान्छो भाईको राहादानी बनाउन सदरमुकाम आएका उनी पनि १०÷१२ दिनपछि विदेश फर्कदैँ छन् । ‘भाईलाई एक्लै पठाउँ भने प्रशासनीक काममा मेसो छैन, राहादानीकै लागि विदेशबाट आउने कुरा पनि भएन,’ उनले भने, ‘दसैँमा घर आएको समयलाई सदुपयोग गर्दै भाईको पनि राहादानी बनाउँदैछु ।’ पन्थी र राना मात्र होइन, दसैँ र तिहारको समयमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहादानी लिन आउनेहरुको घुइँचो लागेको छ । ‘सर्प पनि मरोस, लौरो पनि न भाँचियोस’ भन्ने नेपाली उखान जस्तै धेरैले दसै तिहारबिचको समयलाई सदुपयोग गरे ।

नागरिकता सँगै राहादानी पनि दसैँ–तिहारकै समयमा बढी प्रदान गरिएको छ । १ असोजदेखि कार्तिक २५ गतेसम्म साधारण ८ सय ३२ र द्रुत २ सय ५३ गरी कुल एक हजार ८५ जनालाई राहादानी वितरण गरिएको छ । आर्थिक बर्ष ०७५÷०७६ को अघिल्ला दुई महिनाको तुलनामा दसैँ–तिहारको समयमा लिएको राहादानी सङ्ख्या एक सय ५१ ले बढी हो । साउन र भदौमा जिल्लाबाट कुल नौ सय ३४ राहादानी सिफारिस गरिएको थियो । जसमध्ये छ सय २० जनालाई सामान्य र दुई सय ७० जनालाई दु्रतसेवाको लागि राहादानी सिफारिस गरिएको राहादानी शाखाका नायवसुब्बा भुवन वस्नेतले बताए ।

दसै तिहारको समयमा जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहिको संङ्ख्या बढेसँगै दुई महिनामा मात्रै झण्डै ७५ लाख राजस्व संकलन भएको छ । जसमध्ये सवै भन्दा धेरै राहादानीबाट संकलन भएको छ । गत १ असोजदेखि कार्तिक २५ गतेसम्म मात्रै राहादानी सिफारिसबाट ७२ लाख ७० हजार रुपैँया संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । जुन यस आर्थिक बर्षको अघिल्लो दुई महिनाको तुलनामा ४० लाख ९२ हजार पाँच सयले बढी हो ।

अघिल्ला दुई महिनामा ३१ लाख ७७ हजार पाँच सय रुपैँया संकलन भएको कार्यालयले जनाएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा दसैँ–तिहारको समयमा संघ संस्था नविकरणबाट पनि एक लाख ८३ हजार नौ ५५ राजस्व संकलन भएको छ । जुन आर्थिक बर्ष ०७५÷०७६ को साउन र भदौको तुलनामा एक लाख ५२ हजार आठ सय ५५ रुपैँयाले बढी हो । साउन र भदौमा संघ–संस्था नविकरणबाट ३१ हजार एक सय मात्र राजस्व संकलन भएको सुचना अधिकारी पाण्डेयले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७५ बिहिबार ००:००  ३ : ४४ बजे