९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले फुसका छाना हटाउँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले फुसका छाना हटाउने भएको छ । नगरपालिकाले नगरको लोकप्रिय कार्यक्रम अन्तर्रगत यो अभियानलाई राखेको छ । कपिलवस्तुका क्रियाशिल पत्रकार बीच भएको छलफल कार्यक्रममा नगरका मेयर केशव कुमार श्रेष्ठले अहिले फुसका छानाको घरधुरी संख्या निकाल्ने तयारी भैरहेको बताउनुभयो ।

फुसका छाना हटाउन नगरपालिकाले यस बर्ष २५ लाख बजेट विनियोजन गरेको उहाले जानकारी दिनुभयो । नगर भित्रका १० ओटै वडामा रहेका दलित, गरिब र अतिविपन्न घरपरिवारको फुसको छाना हटाई जस्तापाता लगाउने उहाले बताउनुभयो ।

यसैबीच बुद्धभूमि नगरपालिकाले आर्थिक बर्षको पहिलो चौमासिकमा भए गरेका प्रगतिको बारेमा जानकारी गराएको छ । ढुङ्गा, गिट्टी बालुवाको निकासी समयमा खुल्न नसक्दा प्रथम चौमासिकमा विकास निर्माणका काम भने हुन सकेको छैन । तर, नगरपालिकाले बार्षिक कार्यक्रम अन्तर्रगत साक्षर नगर घोषणा गर्न भने सफल भएको छ । यसैगरी यही आर्थिक बर्षमा पूर्ण बालविवाह मुक्त नगर घोषणाको लागि तयारी भैरहेको मेयर श्रेष्ठले बताउनुभयो ।

यसैगरी नगरपालिकाले गत आर्थिक बर्षमा विकास निर्माणका कामहरु शत प्रतिशत सम्पन्न गर्न सफल भएको दाबी गरेको छ । नगरका ठूला योजना बाहेकका अन्य सबै काम समयमै सम्पन्न गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ माध्याले बताउनुभयो ।

नगरपालिकाबाट हुने सबै काम यस बर्ष देखि डिजिटल प्रविधिबाट गर्ने योजना रहेको पनि उहाले बताउनुभयो । यसैगरी यही आर्थिक बर्ष भित्र नगरपालिकाले महत्वपूर्ण स्थानमा सिसि क्यामेरा जडान र नागरिक वडापत्रलाई डिजिटल बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७५ बिहिबार ००:००  २ : ५७ बजे