९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

धनुषामा बालिकालाई बलात्कार पश्चात हत्या गरेको आरोपमा दुईजना जेल चलान



धनुषा । धनुषामा एक बालिकालाई बलात्कार पश्चात हत्या गरेको आरोपमा दुईजनालाई जेल चलान गरिएको छ।

जिल्ला अदालत धनुषाको ५ नम्बर इजलासका न्यायाधीश राजेश कटवालको सोमबारको इजलासले घटनामा संलग्न दुई आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

धनुषाको औरही गाउँपालिका–२ बस्ने १० वर्षीया बालिका मनिका यादवको सामूहिक बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका ३२ वर्षीय विनोद मुखिया र २३ वर्षीय नथुनी पण्डितलाई थुनामा राख्ने आदेश दिएको हो।

मुखिया यसअघि पनि गोली प्रहार तथा लुटपाट सम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन्।

आरोपितले मनिकालाई असोज २६ गते गाउँमै लागेको दुर्गा पूजाको मेला हेर्न र चाउमिन खुवाउने प्रलोभनमा पारी बलात्कार पश्चात हत्या गरेका थिए।

आरोपित विनोद र नथुनीले मदिरा खाने क्रममा भट्टीमै मेलाबाट बालिकालाई फकाएर बलात्कार गर्ने योजना बनाएका थिए।

छिमेकी काका नाता पर्ने आरोपित नथुनीले १० रुपैयाँ, चाउमिन, चकलेट लगायतका खानेकुरा दिन्छु भनेपछि मनिका उनीहरूसँग गएका थिइन्।

मेलाबाट करिब १ किमि पर खेतमा लगेर दुवै जनाले बालिकालाई मुख थुनेर बलात्कार गर्ने क्रममा मनिकाको मृत्यु भएको थियो। बालिकाको मृत्यु भए पश्चात दुवै जना मिलेर धानको हिलामो मुख गाडेर भागेका थिए। मनिकाको मृत शरीर भोली पल्ट अपराह्न घरभन्दा सय मिटर पर गाडिएको अवस्थामा फेला परेको थियो। बालिका हत्या भएको एक दिनपछि दुवै जना पक्राउ परेका थिए। बालिकाको सामूहिक बलात्कार गरी हत्या गरेका अभियुक्तलाई जीवित रहेसम्म कैदको माग सहित आइतबार अदालतमा मुद्दा पेस भएपछि सोमबारको इजलासले दुवै आरोपितलाई थुनामा पठाउने आदेश दिएको हो।

आरोपित दुवैलाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले जीवित रहेसम्म कैदको मागसहित जिल्ला अदालतमा मुद्दा पेस गरेको छ।बलात्कार गरी हत्या गरेको आरोपमा जीवित रहेसम्म कैद हुने नेपालमै पहिलो पटक भएको जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७५ मंगलबार ००:००  ८ : ३६ बजे