९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज छठको पर्व मुख्य दिन, अस्ताउदो सूर्यलाई अर्घ दिइदै, प्रदेश ५ मा यसकारण छैन विदा



कपिलवस्तु ।

लोकआस्थाको महापर्व छठको आज तेश्रो तथा मुख्य दिन । व्रतालुहरु भक्तिभावका साथ साझ अस्ताउदो सूर्यलाई अर्घ दिने तयारी गर्दैछन । मिथिला तथा तराईवासीहरुको सबैभन्दा ठूलो र पवित्र पवको रुपमा रहेको पर्व छठमा परिवारका सम्पूर्ण सदस्यहरुको सहभागीता रहने गर्दछ भने यस पर्वमा हरेक सदस्यले शुद्धता तथा पवित्रता प्रति विशेष ध्यान दिने गर्छन् । निकै कडा नियमका साथ पूजाको तयारी गरिने यस चाडमा चोखो तथा शुद्धताको निकै ध्यान दिने गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
छठ पूजाको लागी तराइका जिल्लहरुका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरुको किनारलाई सफा सुग्घर पारी सिँगारिएको छ । छठको अवसरमा जनकपुरको ऐतिहासिक गंगासागर, धनुष सागर, दशरथ तलाउ, सप्तरीको सप्तकोसी व्यारेज वीरगञ्जको घडीअर्वा पोखरी, हेटौंडाको राप्तितट, काठमाण्डौको रानिपोखरी, रुपन्देहीको डण्डा र तिनाउ, कपिलवस्तुको रामघाट, नवलपरासीको त्रिवेणी लगायतका जलाशयहरुमा बिशेष सजावट गरीएको छ ।
झिलीमिली बत्तिले दुलही झै सजाइएका छठ घाटहरु यतिखेर व्रतालु तथा दर्शनार्थीहरुको लागि तयार छन । यीनै छठ घाटहरुमा आज व्रतालुहरुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् ।साँझ सूर्य भक्तिमा लीन भएर पूजाआजा गर्दै साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिइने छ भने भोलि बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ दिएपछि विधिपूर्वक यो पर्व सकिनेछ ।

हिजो बेलुका माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु भइसकेको छ । हिजो बेलुका पूजा पश्चात खाएको प्रसादको भरमा रहेर व्रत बसेका व्रतालुहरुले अब भोलि बिहान सूर्यलाई अर्घ दिएपछि मात्र अन्न र जल ग्रहण गर्नेछन् ।
लगातार ३६ घण्टासम्म निर्जल र निराहार भएर गरिने यो व्रत तराईवासीले निकै आश्था र श्रद्धा पूर्वक मनाउने गर्छन । नदी, पोखरी तथा जलाशयको किनारमा पूजा गर्दै बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर घर फर्केपछि मात्र व्रत समाप्त हुनेछ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन ।

सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।
कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ ।छठको अवसरमा संघिय सरकारले आज छठ मान्नेहरुका लागि मात्र बिदा दिएको छ । प्रदेश नम्वर २ को सरकारले भने आज आफनो प्रदेशमा सार्बजनिक बिदा दिएको छ ।

प्रदेश ५ मा यसकारण विदा छैन
यसैबीच आज प्रदेश ५ मा सार्वजनिक विदा नहुने भएको छ । प्रदेश नम्वर २ ले सार्बजनिक बिदा घोषणा गरेपछी ६ पहाडी र ६ तराइका जिल्ला भएको प्रदेश नम्वर ५ मा पनि आज प्रदेश सरकारले सार्बजनिक बिदा दिने अनुमान सबैले गरेका थिए तर प्रदेश ५ मा भने विदा नदिइएको सरकारका एकजना मन्त्रीले जानकारी गराउनु भएको छ ।
सरकारका एक जना मन्त्रीका अनुसार प्रदेश ५ मा छठ मान्ने कति छन भनि सामान्य अध्ययन गर्ने क्रममा विदा दिन आवश्यक नभएको जनाइएको छ ।

नवलपरासीको त्रिबेणी र परासी, रुपन्देहीको भैरहवा र मर्चवार क्षेत्र, कपिलवस्तुको तौलीहवा र कृष्णनगर, बाके तथा बर्दियाका केही भागमा मात्र करिव डेढ लाखले मात्रै छठ मान्ने गरेको पाइएकाले छुट्टै बिदा दिन आवश्यक नभएको बताइएको छ । केन्द्रिय सरकारले छठ मान्नेहरुलाई स्वत बिदा दिने भनेकाले छठ मान्नेलाई बिदा हुने तर कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।

यसैबीच प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जातीय र सांस्कृतिक विविधताले भरिएको नेपालमा विभिन्न जाति र समुदायले मनाउने पर्व सम्पूर्ण नेपालीको अमूल्य निधि भएको बताउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले छठ पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा समाजका पर्व र संस्कृतिले एकता, भ्रातृत्व र मेलमिलापको वातावरण बनाइरहेको तथा कुनै समय कुनै समुदायविशेषले मनाउने छठ पर्व अहिले सबै नेपालीका साझा बन्दै जानु नेपाली समाजका लागि सुखद् विषय भएको बताउनुभयो ।

प्रकाशित मिति : २७ कार्तिक २०७५ मंगलबार ००:००  १२ : ५१ बजे