९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

घरमै पसेर क्रिश्चियन धर्म प्रचार गर्ने अष्ट्रेलियन महिलासहित चार नेपाली पक्राउ



गुलरिया ।

बर्दियाको गुलरिया नगरपालिकास्थित बजार क्षेत्रमा घरदैलो गरेरै क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका एक अष्ट्रेलियन महिलासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
धर्मको प्रचारप्रसार गर्दै हिँडेको सूचनाका आधारमा सोमवार जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुलाई कार्यालयमा झिकाई जाँचबुझ गर्दा धर्म प्रचार गरेको पाइएपछि प्रहरीको जिम्मा लगाइएको हो ।
प्रहरीले ईसाई धर्म प्रचार गर्दै हिँडेका ४ जना नेपालीसहित एकजना अष्ट्रेलियन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।
त्यसक्रममा पासपोर्ट नम्बर एन ७००७३७११ भएको बताउने अष्ट्रेलियन महिला क्याटिया ग्रान, नेपालगञ्ज निवासी श्वेता मानन्धर, श्रीजन मानन्धर, दैलेखका तेजबहादुर शाही र मधुवन नगरपालिका–६ बर्दियाका दलबहादुर तिरुवा पक्राउ परेका हुन ।

भिजिट भिषामा नेपाल छिरेकी विदेशी महिलाले धर्म प्रचारमा लागेको पाइएकाले अनुसन्धानपछि उनलाई अध्यागमन विभाग काठमाडौँ पठाइएको एसपी मैनालीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुबाट सोधपुछ र चेकजाँचका क्रममा बाइबल, डायरी, पर्चा पम्प्लेट लगायत भिडियो फेला परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले बताउनुभयो ।

‘उनीहरु धर्म प्रचारकै लागि घरदैलोमा हिँडेको पुष्टि भएकाले प्रहरीको जिम्मा लगाएका हौं’, शाहीले भन्नुभयो ‘समूह बनाएर धर्म प्रचारका लागि घरदैलोमा पुगेको सूचना प्राप्त भएपछि अनुसन्धान थालेको बताउनुभयो ।

प्रकाशित मिति : २६ कार्तिक २०७५ सोमबार ००:००  ११ : ४४ बजे