८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

केही बर्ष यता समावेशी बन्दै ‘छठ पर्व’



मायादेवी अनलाइन, कपिलवस्तु ।
पूर्वी तराईका केही जिल्लाहरुमा मनाइने छठ पर्व अहिले पश्चिम तराईमा समावेशी पर्वका रूपमा विकसित हुँदै गएको छ । सिराह, सप्तरी, पर्सा लगायतका जिल्लामा मनाइने गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायत पश्चिम तराईका जिल्लाहरुमा समेत धुमधामसँग मनाउन थालिएपछि यो पर्व धार्मिक सद्भावका रूपमा स्थापित हुँदै गएको हो ।
विशेषगरी पूर्वका मधेसी समुदायले मात्र अंगाली रहेको छठ पर्व कपिलवस्तुका पहाडी, नेवारी, मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाइएको छ । आराध्य देव सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व आइतबारदेखि सुरु भई बुधबार सम्पन्न हुँदैछ ।
अहिले छठको पूजाका लागि घर–घरमा विशेष तयारीसमेत गरिएको छ । मूल घर पूर्वको तराई जिल्लामा भई कपिलवस्तुको तौलिहवामा विभिन्न कामले बस्दै आएका दुई चार घरले मात्र मनाउने गरिएको छठ बिगत ६ वर्षयता जिल्लाका विभिन्न जातजातिहरुले समेत यो पर्व मनाउने गरेका छन् । जिल्लाको उत्तरी भेगमा रहेको गोरुसिंगे, चारनम्बर, चन्द्रौटा लगायतमा समेत छठ पर्व मनाउनेको संख्या हरेक वर्ष बृद्धि हुँदै गएको छ ।
कपिलवस्तु नगरपालिका– ३ की नेवार समुदायकी महाश्वेता शाक्यले ६ वर्ष अघिदेखि छठ पर्व मनाउँदै गएको बताइन् । माइती घर पाल्पामा छठ पर्वको बारेमा सुनेपनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडी सँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाइलो लाग्ने गरेको बताइन् । विभिन्न जातजातिहरुले एकैसाथ पर्व मनाउँदा सांस्कृतिक आदानप्रदान समेत हुने उनी बताउँछिन् । छठ पर्व आफ्नो पूरै परिवार र छिमेकीहरु सित मिलेर एकैसाथ मनाउने गरेको उनले सुनाइन् ।
यस्तै कपिलवस्तुमा बिगत ४ वर्षदेखि छठ पर्व मनाउँदै आएका तौलिहवाका चिन्टु गुप्ताले छठ पर्व जिल्लामा लोकप्रिय बन्दै गएको बताए । विशेष हर्षउल्लास, परिवार, मित्रहरु, आफन्तजनसँग भेटघाटको अवसरका रूपमा समेत यो पर्व बन्दै गएको उनी बताउँछन् । धनी, गरिब, हिन्दू, मुस्लिम, महिला–पुरुष, पहाडी मधेसी सबै वर्ग समुदायले अंगाल्न थालेको यो पर्वले मुलुकको वर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको विश्वास छ ।
पूर्वीय संस्कृतिमाथि बिस्तारै पाश्चात्यको पकड बढिरहेको बेला यो पर्वको व्रतालु र श्रद्धालु बढ्नुले पनि यो पर्वको झन् महत्व बढ्दै गएको मानवअधिकारकर्मी रामदयाल ठाकुर बताउँछन् । यो पर्वको लोकप्रियताको कदर गर्दै राज्यले समेत यो पर्वलाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिनु पर्ने उनको माग छ ।
छठ पर्व वैज्ञानिक दृष्टिले समेत महत्वपूर्ण रहेको केही चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार विशेषगरी छठमा सूर्यको उपासना गरिने र त्यही सूर्यको किरणमा भिटामिन सी पाइने भएकाले प्राणी जगतका लागि प्रत्यक्ष र अप्रत्यक्ष जीवन प्रदान गरिरहेको हुन्छ । त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छाला सम्बन्धि रोग निको हुने समेत जनविश्वास रहँदै आएको छ ।

छठ पूजाको तयारी पूरा

छठ पर्व मनाउनका लागि कपिलवस्तु नगरपालिका– १ स्थित चपरतल्ला नालामा बनाइएको घाटमा सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । पर्व मनाउने स्थलको सरसफाई, गेट निर्माण, माटो पटान र सजावट लगायतको सबै तयारी पूरा भएको हो । छठ पर्व मूल समितिका संयोजक गणेशलाल कर्णले छठ मनाउने स्थलको सबै तयारी पूरा भएको बताए ।
सोमबार र मंगलबारको दिनलाई मध्यनजर गर्दै स्यमंसेवक परिचालन, स्वागत गेट निर्माणको तयारी भएको उनले बताए । छठ स्थलमा शनिबार देखि सरसफाई सुरु गरिएको छ । यस ठाउँमा कपिलवस्तु नगरपालिकाले फोहर फाल्ने टम्पिङ साइट बनाए पछि स्थानीयबासी आक्रोसित भएका छन ।
नगरपालिकाले छठ पूजाका लागि भनेर शनिबार एक्साभेटर प्रयोग गरि फोहरको सफाई गरेको थियो । यस वर्ष झण्डै ३० हजार श्रद्धालुहरु यस नालामा पूजा गर्न आउने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७५ सोमबार ००:००  ३ : १८ बजे