८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

प्रद्यानाध्यापक चौबेको निधन, आइतबार सामुदायिक विद्यालयमा शोक विदा



मायादेवी अनलाइन ।
नेपाल शिक्षक महासंघ कपिलवस्तुले कार्तिक २५ गते अर्थात आइतबार एकदिनका लागि जिल्लाभरका विद्यालयमा शोकविदा दिने निर्णय गरेको छ ।
महाराजगञ्ज नगरपालिका–३ पडरियास्थित भद्र मा.वि.का प्रधानाध्यापक ४९ वर्षीय लबकुश चौबेको दुःखद निधनप्रति शोक मनाउँदै आइतबार शोकविदाको घोषणा गरेको हो । महासंघका जिल्ला अध्यक्ष देवकला सुबेदीद्वारा जारी शोक विज्ञप्तीमार्फत जिल्लाभरका सम्पूर्ण सामुदायिक विद्यालयलाई शोकविदा दिन आह्वान गरिएको छ ।
शिक्षक महासंघका जिल्ला अध्यक्ष सुबेदीका अनुसार जिल्लाका जुनसुकै सामुदायिक विद्यालयका प्रधानाध्यापकको कुनै कारणले स्वर्गारोहण भएमा जिल्लाभरका सामुदायिक विद्यालयमा शोक विदा दिने बैठकबाटै निर्णय पारित भएको छ । त्यस्तै कुनै शिक्षकको निधन भएमा सोही स्थानीय निकायभित्रका सामुदायिक विद्यालयमा शोकबिदा दिने निर्णय भएको भएको बताइएको छ ।
शिक्षक महासंघको पूर्व निर्णय अनुरूप प्रधानाध्यापक मृतक चौबेको शोकमा आइतबार जिल्लाभरका सामुदायिक विद्यालय बन्द गरी शोक मनाउन अध्यक्ष सुबेदीले शोकविज्ञप्तीमार्फत आग्रह गर्नुभएको छ ।
यसैबीच नेपाल शिक्षक महासंघ शिवराज नगरपालिकाका अध्यक्ष मुक्तिनाथ पोख्रेलले पडरिया मा.वि.का प्रधानाध्यापक लबकुश चौबेको निधनप्रति शोक वक्तव्य जारी गर्नुभएको छ । बक्तव्यमार्फत नगरअध्यक्ष पोख्रेलले आइतबारका दिन शिवराज नगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरी शोक मनाउनु हुन सबै विद्यालयका प्रधानाध्यापकसँग अपिल गर्नुभएको छ ।
नेपाल शिक्षक महासंघका जिल्ला सदस्य समेत रहनुभएका चौबेको जन्म वि.सं. २०२६ साउन १० गते भएको थियो । महाराजगञ्ज नगरपालिका ३, गैंडहवा निवासी चौबे २०६५ सालदेखि भद्र मा.वि.को प्रधानाध्यापकको रुपमा काम गर्दै आउनुभएको थियो । मृतक चौबेको एक श्रीमती र एक छोरा रहेका छन् । हिन्दू धार्मिक परम्परा अनुसार मृतक चौबेलाई बगर्दीघाटमा अन्तिम संस्कार गरिएको बताइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७५ शनिबार ००:००  ११ : ०५ बजे