महोत्तरी ।
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् ।
नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् ।
मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न सङ्घसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।
मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हँुदै गएको छ । “हामीले पनि प्रत्येक वर्ष छठ मनाउन थालेका छौँ,” स्थानीयवासी रीता लामाले भन्नुभयो । घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसँगै छठको गीत गुञ्जिरहेको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको छ । तिहार र छठ लगभग सँगसँगै शुरु भइसक्छ । (रासस)
प्रतिक्रिया