८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मन्त्री खनाल भन्छन्, ‘मायादेवी रंगशाला राष्ट्रिय स्तरको बन्छ’



चन्द्रकान्त न्यौपाने, बाणगंगा ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले कपिलवस्तुको बाणगंगा ८, बोडगाउँमा रहेको मायादेवी रंगशालालाई राष्ट्रिय स्तरको रंगशाला बनाउने काम सुरु भएको बताउनु भएको छ ।
मन्त्री खनालले राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्नको लागि चाहिने मापदण्ड मायादेवी रंगशालामा रहेको भन्दै यसलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको हो ।
सनराइज सामाजिक विकास मञ्च बोडगाउँले आयोजना गरेको प्रदेश स्तरीय क्रिकेटको समापन सत्रमा बोल्दै मन्त्री खनालले त्यसको लागि बजेट विनियोजन गर्ने र भौतिक पूर्वाधार निर्माणको लागि डिपीआर तयार पार्ने काम भैरहेको बताउनुभयो । मायादेवी रंगशालालाई प्रदेश ५ कै उत्कृष्ट रंगशाला बनाउने दावी गर्नुभयो ।

पछिल्लो समय नेपाललाई चिनाउने खेल क्रिकेट भएको हुँदा यस क्षेत्रका क्रिकेट प्रतिभालााई उजागर गर्नको लागि सनराइज सामाजिक विकास मञ्चले महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै आयोजकलाई मन्त्री खनालले यस क्षेत्रको क्रिकेट विकासको लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । खेलकुद मन्त्रालयले पनि खेलकुदलाई प्राथमिकतामा राखेर हरेक स्थानीय तहमा अन्तराष्ट्रिय खेल मैदान बनाने तयारी गरेको मन्त्री खनालले जानकारी दिनुभयो ।
फरक प्रसंगमा लागु पदार्थ दुर्वसनजस्तो सामाजिक अपराधबाट युवाहरुलाई बाहिर राख्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले देशभर नै अधिकभन्दा अधिकब खेलकुदका कार्यक्रम संचालन गर्नु पर्नेमा मन्त्री खनालले जोड दिनुभयो ।
कपिलवस्तुको बाणगंगाा नगरपालिकामा पछिल्लो समय लागु पदार्थ दुव्र्यसनीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै जानु दुखद भएको भन्दै यसलाई नियन्त्रण गर्न पनि यस्ता खेलकुदका कार्यक्रम महत्वपूर्ण हुने मन्त्री खनालको धारणा छ ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य गिरीधारीलाल न्यौपानेले राज्यले खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । उहाँले समाज र राष्ट्रको लागि खेल्ने खेलाडीलाई सरकारले बाँच्न सक्ने बातावरण निर्माण गर्न सक्नु पर्ने बताउनुभयो ।
बाणगंगा ८ का वडाध्यक्ष गुणनीधि भूषालले बाणगंगा नगरपालिकाको मायादेवी रंगशालमा खेलको लागि धेरै हिसावले उपयुक्त भएको हुँदा यसको स्तरोन्नतीलाई सबैले ध्यान पुराउने बताउनु भयो । सनराइजले यो खेल बाणगंगामा आयोजना गर्नु गर्वको विषय भएको हुँदा यसले जिल्लाका धेरै खेलाडीलाई चिन्न सजिलो भएको बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् कपिलवस्तुका अध्यक्ष छवि रेश्मीले कपिलवस्तुलाई खेलकुदके हब बनाउनु पर्ने बताउनु भयो । प्रदेश ५ मै कपिलवस्तुमा खेलकुदको विकासको लागि प्रशस्त पूर्वाधार भएकाले यसलाई स्थानीय तह, प्रदेश र केन्द्रले चिन्नु पर्ने बताउनुभयो ।
समाजसेवी तथा प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य कर्ता वरिष्ठ समाजसेवी कृष्ण कुँवरले खेलाडीलाई प्रोत्सहान गर्न र जिल्लाको खेलकुदको विकासको लागि आफूले सहयोग गरेको बताउनुभयो । बिशिष्ट अतिथि कुँवरले पनि खेलकुद राष्ट्रको गहना भएको हुँदा यसको विकासमा सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, पत्रकार, समाजसेवी तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७५ मंगलबार ००:००  ११ : ४१ बजे