८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

धान र गँहु काट्ने हाते मेसिन रिपर बारे सचेतना



मायादेवी अनलाइन, चारनम्बर
परम्परागत कृषि प्रणाली अवलम्बन गरेका किसानका लागि नयाँ नयाँ यान्त्रिक प्रविधी भित्रिन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन धान वाणगंगाको कार्यालयले किसानहरुको सुविधाका लागि नयाँ यान्त्रिक प्रविधी भित्रिएसंगै यसको बारेमा जानकारी दिन शुरु गरेको हो ।

धान काट्ने जनशक्तिको अभाव भईरहेको बेला परियोजनाले यान्त्रिक प्रविधीको प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्दै सचेतना अभियान शुरु गरेको छ । कृषि क्षेत्रमा मेसिनको प्रयोग हुन थालेपछि किसानलाई धेरै सुविधा र फाइदा समेत हुन थालेको छ ।
समयको बचत र कम लागतमा धान काट्ने मेसिन रिपरको प्रयोग र यसको प्रचार प्रसारका लागि वाणगंगा नगरपालिकामा सचेतना अभियान शुरु गरेको धान सुपरजोन कार्यालय प्रमुख मुकुन्द भुसालले जानकारी दिनुभयो । धान तथा गँहु काट्ने मेसिन रिपर प्रविधीको विस्तार तथा सचेतना अभियान संचालन गरेको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

धान सुपरजोनको कार्यक्षेत्रमा यस्ता मेसिनरीको प्रयोगले उत्पादन लागत र समयको बचतमा धेरै सहयोग पुग्ने उहाले विश्वास व्यक्त गर्नुभयो । यसवर्ष जिल्लाको धान उत्पादनमा बृद्धि हुने आँकलन गरिएको छ । धान सुपरजोन परियोजनाको कार्यक्षेत्र बुद्धभूमि नगरपालिकामा किसानले रिपरहरुको प्रयोग बढि गरेको भएपनि वाणगंगा नगरपालिकामा यसको प्रयोक न्यून रहेको हुँदा वाणगंगा नगरपालिकाका विभिन्न कृषक समूहलाई सचेतना गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन वाणगंगा र सिमिट (सिसा) परियोजनाको संयुक्त आयोजनामा कृषि यान्त्रिक प्रविधीको बारेमा सचेतना र प्रचार प्रसार गरिएको हो । परियोजनाले कृषि यान्त्रिक प्रविधी खरिदमा सूचिकृत समूहलाई ५० प्रतिशत अनुदान समेत उपलब्ध गराउने भएको छ ।

धान तथा गहुँ काट्न सहज हुने हाते मेसिन रिपरको ५० देखि ६० हजार रुपैया सम्म बजार मूल्य रहेको बताइएको छ । पावर टिलरमा जोडेर धान गँहु काट्ने मेसिन रिपरले एक घण्टामा ५ देखि १० कट्ठा सम्म काट्न सकिने छ भने यसको प्रयोगबाट धान काट्दा पराल खेर नजाने लगाएतका धेरै फाइदा छन् । कम्बाइन हार्वेस्टर प्रयोग गर्न नसकिने ठाँउमा रिपर मेसिनको प्रयोग प्रभावकारी भएको सिसा परियोजनाका क्षेत्रीय संयोजक सलिब आचार्यले जानकारी दिनुभयो । सिसा परियोजनाले लामो समयदेखि नेपालमा विभिन्न कृषि यन्त्रहरुको प्रदर्शनी र जानकारी दिदै आएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५ सोमबार ००:००  २ : ५८ बजे