८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा जेसिज सप्ताह शुरु, विभिन्न रचनात्मक कार्यक्रम



मायादेवी अनलाइन, चारनम्बर ।
‘जिम्मेवार युवा, सम्बृद्ध राष्ट्र’ भन्ने नारा सहित शनिबारदेखि जेसिज सप्ताह सुरु भएको छ । कपिलवस्तु जेसिजको आयोजनामा शुरु भएको सप्ताहमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । पहिलो दिन मिनी म्याराथन दौड र मैत्रीपूर्ण फुटवल प्रतियोगिता संचालन भएका छन् । कोठीखोलाबाट बनगाई सम्म भएको साढे १० किलोमिटरको म्याराथनमा नेपाली सेना नारायणदल गण गोरुसिंगेका निमा दोर्जे शेर्पा प्रथम भएका छन् ।
उनले निर्धारित दुरी ४० मिनेट २४ सेकेण्डमा पार गरे । त्यस्तै जिनुवाका अजय पाण्डे दोश्रो भएका छन् । उनले निर्धारित दुरी ४० मिनेट २४ सेकेण्डमा पार गरे । त्यस्तै नेपाली सेनाको नारायण दल गणकै लक्ष्मण चौलागाई तृतीय भएका छन् । म्याराथनको उद्घाटन नेपाल जेसीसका पूर्व कार्यकारिणी उपाध्यक्ष अरुणेश्वर खनालले गर्नुभएको थियो ।
त्यस्तै मैत्रीपूर्ण फुटवल खेलमा कपिलवस्तु जेसिज, रोटरी क्लव र हेल्थ कल्व बाणगंगा विजयी भएका छन् । बुद्ध रंगशालामा शनिबार भएको पहिलो खेलमा हेल्थ क्लवले लायन्स क्लवलाई १०–० गोलको फराकिलो अन्तरले जित हासिल गरेको छ ।
त्यस्तै दोश्रो खेलमा नेपाल पत्रकार महासंघ कपिलवस्तुको टोलीलाई रोटरी क्लवले टाइब्रेकरमा पराजित गरेको छ । निर्धारित ४० मिनेटको खेलमा चन्द्रकान्त न्यौपानेको गोलमा महासंघले अग्रता लिएपनि अन्तिम समयमा रोटरीले एक गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको थियो । टाइब्रेकरमा रोटरीले पत्रकार महासंघलार्ई २–१ गोल जित हासिल गर्यो ।
त्यस्तै तेश्रो खेलमा आयोजक कपिलवस्तु जेसिज विजयी भएको छ । जेसिजले कपिलवस्तु उद्योग वाणिज्य संघलाई ३–१ गोलले जित हासिल गर्यो । फुटवलको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सदस्य अत्तहर कमालले उद्घाटन गर्नुभएको थियो । मैत्रीपूर्ण फुटवलमा आइतबार २ खेल हुने अमृत घिमिरेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७५ आइतबार ००:००  २ : ४४ बजे