८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विद्यार्थीलाई पढाईमा मात्र सिमित नगराउन प्रदेश सांसद पन्थीको सुझाव



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश सांसद विष्णु पन्थीले विद्यालयमा विद्यार्थीलाई पढाईमा मात्र सिमित गराउन नहुने बताउनुभएको छ । सांसद पन्थीले विद्यालयमा अध्ययनको अतिरिक्त सिर्जनात्मक कार्यसंगै नेपाली सभ्यता, संस्कार र वातावरणीय सरसफाई संग जोडिएका विभिन्न विषयबस्तुका बारेमा ज्ञान दिनुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुले शनिबार सिद्धार्थ क्याम्पस वाणगंगामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा डष्टविन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । युवा नेता समेत रहनुभएका पन्थीले शिक्षकहरु समाजको प्रेरणाको श्रोतको रुपमा रहनुपर्ने भन्दै शिक्षकले सिकाउने र अपनाउने क्रियाकलापबाट विद्यार्थीहरु असल नागरिक बन्ने हुँदा विद्यार्थीलाई समाजसंग जोडेर ज्ञान दिनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

शिक्षकले विद्यार्थीलाई सिकाएको कुरा घरपरिवार तथा सार्वजनिक स्थलमा प्रयोग हुने हुँदा सभ्यता तथा संस्कारयुक्त बानीको विकासमा विद्यालयमा शिक्षा प्रदान गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले नगरभित्रका सामुदायिक विद्यालयहरुलाई राष्ट्रिय शिक्षक संगठनले डस्टविन वितरण गरेर राम्रो काम गरेको बताउनुभयो ।
एउटा विद्यालयले राम्रो शिक्षा प्रदान गर्नको लागि वातावरणीय सरसफाइ सबैभन्दा महत्वपूर्ण भएको हुँदा हरेक विद्यालयले विद्यालयको वातावरण सफा राख्नुपर्ने बताउनु भयो । स्वस्थ वातावरणमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार भएको हुँदा स्वस्थ मष्तिस्क निर्माणको उपयुक्त वातावरण गर्नु हरेक विद्यालको दायित्व रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले डस्टविन वितरण कार्यको प्रसंसा गर्दै हरेक विद्यालय वातावरणीय हिसावले सफा सुग्घर हुनुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयका शिक्षकमा मिहिनेत गर्ने बानीको विकास हराउँदै गएको भन्दै यसमा प्रमुख जिम्मेवार प्रद्यानाध्यापक हुने बताउनुभयो । हरेक विद्यालयका प्रअले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने सुझाव दिनुभयो । फरक प्रसंगमा नेता पाख्रेलले पछिल्ला समयमा महिला हिंसाका घटना बढ्दै गर्दा पुरुष भएर हिँड्दा आफैलाई लाज लाग्न थालेको बताउनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संगठनका केन्द्रिय कोषाध्यक्ष विष्णु भण्डारी, नेपाल निजामति आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष खिमबहादुर जिसी, शिक्षक संगठनका पूर्व अध्यक्ष जगन्नाथ मरासिनी, लगाएतले विद्यालयमा सरसफाइको क्षेत्रमा नमुना बनाउनुपर्ने बताएका थिए ।

एनआइसी एसियाका क्षेत्रीय कार्यालय बुटवलका प्रमुख राजन पोख्रेलले वैंकले ग्राहकलाई अधिक्तम सेवा सुविधा दिदै कपिलवस्तुमा ६ वटा शाखा संचालन गरेको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व बहन गर्दै वातावरणीय सरसफाईमा सहयोग पुरयाउन वैंकले सामाजिक सहयोगको काम गरेको बताए । वैंकले झण्डै ३ लाख बराबरको डस्टविन सहयोग गरेको हो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष रमेश पन्थीले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै डस्टविनको सही तरिकाले सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले आफु अध्यक्ष भइसकेपछि जिल्लाको शैक्षिक समस्या निराकरणमा सक्दो प्रयास गरेको बताउनुभयो । नगरभित्रका विद्यालयमा रहेको विद्यार्थी संख्याको अनुपातमा डस्टविन वितरण गरिएको भन्दै कार्यक्रमका अध्यक्ष पन्थीले विद्यालयको दायित्व पढाउने र लेखाउने संगसंगै रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो । पञ्च निमावी वैजलपुरका प्रधानाध्यापक जगत रेग्मीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नगरभित्रका विद्यालयका प्रद्यानाध्यापकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संगठनले ५० विद्यार्थी बराबर एक डस्टविन वितरण गरेको हो । सांसद विष्णु पन्थीको पहलमा एनआईसी एसिया बैँकले विद्यालयहरुलाई डस्टविन वितरणमा सहयोग गरेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  ३ : १५ बजे