८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुमा थपिए चार स्थान पर्यटकीय गन्तव्यको सूचिमा, दुई नयाँ, दुई पुरानै !



दीपा महत, कपिलवस्तु । 

बुद्धस्थलले भरिपूर्ण भएपनि विकासको गतिमा पछि परेको कपिलवस्तुमा सरकारले विकासको गति अगाडी बढाएको छ । जिल्लाका चार प्रमुख पर्यटकीय स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ ।

यसभन्दा अगाडी पर्यटकीय स्थल भए पनि प्रवर्धन हुनु नसकेका दुई स्थानलाई सरकारले प्रवर्धन गरिनुपर्ने गन्तव्यका रुपमा लिएको छ । यस्तै दुई स्थललाई नयाँ गन्तव्य सूचीको रुपमा विकास गरेको छ ।

जसमा विगत देखि चर्चामा रहेर पनि विकास नभएका निग्लिहवा र मायादेवी तिलौराकोेट पैदल परिपथलाई सरकारले प्रवर्धन गरिनुपर्ने गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । यस्तै निग्लिहवाको जगदीशप्र ताल र तौलिहवाको सागर ताललाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गनुपर्ने सरकारले लक्ष्य लिएको छ ।

जगदीशपुर ताल नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल हो । जुन ताललाई प्रदेश सरकारले पनि यस बर्ष उचित महत्व दिएको छ । यहाँ हजारौ आगन्तुक चराहरु आउने गरेका छन । विश्व सिमसार सुचिमा सुचिकृत रहेको यस जगदीशपुर तालमा सरकारले अब विकास गर्ने छ ।

यस्तै तौलिहवामा रहेको सागर ताल पनि प्रमुख पर्यटकीय स्थल हो । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि यो ताल विकास हुन सकेको थिएन ।

यता सरकारले ओझेलमा परेका देशभरका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ एक सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको छ ।

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् ।

सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  १ : २१ बजे