८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नदीजन्य वस्तु निकासामा अन्यौलता, विकास निर्माणका काम ठप्प



दिपक खड्का, चन्द्रौटा ।
शिवराज नगरपालिका वडा न. २ हल्लानगर निवासी ऋषिराम लम्साल पैसाको जोहो गरी घर बनाउँदै छन । तर, घर नजिकैको सुरही खोलाको हल्लानगर नाकाबाट बालुवा, गिट्टी निकासी नहुँदा उनको घरको निर्माण प्रक्रिया रोकिएको छ ।
शिवराज नगरपालिका वडा न २ बालापुरका विनोद पुनले गत वर्ष घर निमार्ण गरेका थिए । अहिले घर पलस्टर गर्ने सोचमा छन । सामान्यतया वातावरणीय प्रभाव मूल्याङ्कन पछि नदीजन्य वस्तु असोज महिनाबाट निकाल्न मिल्छ । तर, कार्तिक बित्न लाग्दा समेत वातावरणीय प्रभाव मूल्याङ्कन भएर पनि निकासा खुल्ला भएको छैन ।
जिल्ला समन्वय समिति कपिलवस्तुवाट निर्णय हुन बाँकी रहेको शिवराज नगरपालिकाका इन्जिनिर राजेश कुमार शैनीले बताउनभयो । प्रदेश न ५ वाट गिट्टी, बालुवा तथा ढुङ्गा निकासीका लागि रोकिएको हो । जसका कारण घर निर्माणका लागि तयारीमा रहेक शिवराज नगरपालिकाका स्थानीयहरु प्रभावित बनेका छन ।
जसका कारण स्थानीय तहमा जम्मा हुने राजस्व संकलन रोकिनुका साथै स्थानीयहरुले भाडा बढी तिरेर बालुवा ल्याउन बाध्य भएका छन । चन्द्रौटाका स्थानीय केदार न्यौपाने आफ्नै नाकाबाट बालुवा प्रति ट्रयाक्टर १ हजार ५ सय रुपैयाँमा ढुवानी हुने भएपनि अहिले अन्यत्रबाट निकासी गर्नुपर्दा ४ हजार रुपैयाँ लाग्ने गरेको बताए ।
घर निर्माणको क्रममा रहेका शिवराज नगरपालिका वडा न. ५ चन्द्रौटाका शंकर के.सी पनि आफ्नै नाकाकोे गिट्टी बालुवा निर्माणको लागि राम्रो भएपनि अन्यत्रबाट मंहगोमा किन्नु पर्ने बाध्यता रहेको बताए । वडा न. १ का वडा अध्यक्ष जगत बहादुर घर्ती क्षेत्रीले विगतमा चोरी निकासी रोक्न साविक गाविसको निगरानीमा बालुवा निकासी गर्दै आएको बताउँदै यस वर्ष संघ र प्रदेशको निर्णय अनुसार र स्थनिय तहको वस्तुगत अवस्थाको सहि मूल्याङ्कन नहुनु र ऐनमा भएका मापदण्डले अन्योलता ल्याएको बताए ।
शिवराज नगरपालिकाका इन्जिनिर राजेश कुमार शैनीले नदीजन्य वस्तु निकासी नहुँदा स्थानीयहरुलाई मर्का परेको भन्दै शिवराज नगरपालिकाले आफ्नै खर्चमा वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको बताए । उनले जिल्ला समन्वय समितिको सहकार्यमा नगरपालिकाले तत्कालै अध्ययनको लागि प्राविधिकहरुको टोली खटाई प्राविधिकहरुले गरेको मूल्याकंन जिल्ला समन्वय समितिमा पठाएको र प्राप्त प्रतिवेदनको आधारमा नगरपालिकाले निकासी गर्ने समेत जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७५ शनिबार ००:००  १२ : ४२ बजे