८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सप्तरीको कोशी किनारका गाउँमा हात्ती आतङ्क, गाउले टिन थाल ठटाएर जाग्राम



लहान ।
सप्तरीको पूर्वी सीमाको सप्तकोशी नदीको तटीय गाउँ बस्तीमा हात्तीको आतङ्कले सर्वसाधारण त्रासमा बस्न बाध्य छन । हात्ती आएर कुनै पनि समय विध्वंस मच्चाउन सक्ने भयले सर्वसाधारण आतङ्कित बनेका हुन । कोशीटप्पु वन्यजन्तुु आरक्ष क्षेत्रबाट आएको हात्तीको समूहले सप्तरीको कञ्चनरूप नगपालिका–१२ रूपनगर चर्खियामा मंगलबार राति स्थानीय तीन जनाको घर भत्काउनुका साथै काट्ने बेला भएको धानबाली नष्ट पारेको छ ।
आरक्षबाट आएको हात्तीको समूहले स्थानीय रामकिसन खत्वे, लिला बञ्जारा र जलेश्वर मोचीको सहित तीन घर भत्काउनुका साथै अन्नबाली खाएर नष्ट बनाएको पीडितले बताए। कोशी नदी तरेर बेला बेलामा आरक्ष क्षेत्रबाट आउने जङ्गली हात्तीको समूहले सर्वसाधारणको घर र अन्नबाली नष्ट गरिरहेको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेको वडाध्यक्ष देवीबहादुर खत्रीले गुनासो गर्नुभयो ।
काट्ने बेलाको धान आरक्षबाट आउने हात्तीको समूहले नष्ट गर्नुका साथै बस्ने घर समेत भत्काउन थालेपछि स्थानीय सर्वसाधारण रातभर टिन थाल ठटाएर जाग्राम बस्ने गरेको वडाध्यक्ष खत्रीले बताउनुभयो । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको हात्तीको आक्रमणमा कञ्चनरूप नगर क्षेत्रमा छ जनाको मृत्यु भइसकेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ६ : २३ बजे