७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

विकासमा फड्को मार्दै चन्द्रौटा, फेरी डिभिजन बन कार्यालयको स्थापना



मायादेवी अनलाइन, चन्द्रौटा ।
विकासको दृष्टिको पछाडि पारिएको चन्द्रौटा क्षेत्रमा विकासको गतिले तीव्रता पाउँदै गएको छ । संघीयताको कार्यान्वयन पूर्वको समयमा चन्द्रौटा क्षेत्र विकासको दृष्टिमा पछाडी थियो । जिल्लाबाट विनियोजित हुने बजेटमा चन्द्रौटा क्षेत्रलाई उपेक्षित पारिदै आएको आरोप लागि रहेको बेला अहिले चन्द्रौटामा दु्रत विकास हुन थालेको छ ।
इलाका प्रशासन कार्यालय, नापि कार्यालय, नेपाल बैंक लिमिटेड, वडा प्रहरी कार्यालय जस्ता जनता संग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय स्थापना भैसकेको अवस्थामा फेरी चन्द्रौटामा डिभिजन बन कार्यालय स्थापना भएको छ ।
पश्चिमी क्षेत्र चन्द्रौटामा डिभिजन वन कार्यालय कपिलवस्तु (गौतम बुद्ध) को कार्यालय स्थापना भएको हो । यो संगै कपिलवस्तु जिल्लामा दुई वटा डिभिजन कार्यालय रहने छन । हालै नेपाल सरकारको निर्णय बमोजिम प्रदेश मन्त्रालयको मातहतमा रहने गरी डिभिजन बन कार्यालय स्थापना भएका हुन ।
कार्यालयको प्रदेश न ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । कार्यलयको उद्धघाटन गर्दै मन्त्री गिरीले वन कार्यलयको वन काट्ने र बेच्ने मात्र काम नभई अब वनमै जडिवुटीहरु उत्पादन गरी समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्ने बताउनुभयो ।
संघीय सरकारले वनलाई प्रदेशको मातहतमा हुने गरी जिम्मा दिएको जनाउदै बैज्ञानिक वन व्यवस्थापन गर्दा पुराना तथा समय अवधि सकिएका रुखहरु लाई विस्तापित गरि नयाँ बिरुवाहरु रोपेर हराभरा बनाउन प्रदेशकै १२ वटा जिल्लामा काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद दिर्घनारायण पाण्डेले सर्व सुलभ सेवा दिने उद्देश्यले एउटा जिल्लामा दुई वटा डिभिजन कार्यालय स्थापना गरेको बताउनुभयो । वनमा काठ तस्करहरु सलवलाई रहेको भन्दै काठ तस्करी र वन अतिक्रमणलाई कम गर्न जनचेतना र कानुन निमार्ण गर्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।
शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले वनको विषयमा विभिन्न कानुनहरु बाझिएकोले ति कानुन पुर्ण बनाएर सबै मिलेर वन संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । काठ तस्करी र वन अतिक्रमण अत्याधिक भएकोले यसलाई रोकथाम गर्न सकेमा मात्र वन व्यवस्थापन हुने चौधरीले जिकीर गर्नु भयो ।
अब जिल्ला वन कार्यालयबाट हुने सम्पूर्ण कामहरु डिभिजन वन कार्यालय कपिलवस्तु (गौतम बुद्ध) चन्द्रौटाबाटै हुने कार्यालय प्रमुख दुर्गा कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५ शुक्रबार ००:००  ४ : ४३ बजे