७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

रेडियो मायादेवीको चौतर्फि प्रशंसा, कस्ले के भने ?



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको बाणगंगा वडा नं. ४ सिद्धपुर चारनम्बरमा रहेको सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले छोटो समयमा जनताको मन जित्न सफल भएकोमा यस क्षेत्रका सरोकारवालाले प्रशंसा गर्नुभएको छ । दशैँ तिहार छठ पर्वको अवसरमा रेडियो मायादेवीले विहीबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा यस क्षेत्रका सांसद, उद्योगी तथा अन्य वक्ताहरुले रेडियोको खुलेरै प्रशंसा गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अतहर कमालले रेडियोले छोटो समयमा राम्रो काम गरेकोमा खुसी व्यक्त गर्दै मिडियामा सुधारको आवश्यकता रहेको बताउनुभयो ।

समाजलाई मुखरित गर्नुको सट्टा देशभरका मिडियामा सामाजिक भन्दा पनि व्यवसायिकता बढेको भन्दै यसमा सुधारको आवश्यकता औँल्याउनुभयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका सांसद कमालले सामाजिक रुपान्तरणमा सञ्चार क्षेत्रको आवश्यकता रहेको बताउनुभयो । उहाले अब मुलुकलाई सही बाटोमा हिडाल्ने जिम्मा मिडिया नै भएको बताउनुभयो । चर्चित पत्रकार रवि लामिछानेको उदाहरण प्रस्तुत गर्दै सांसद कमाले रवि लामिछाने नामले प्रसिद्ध नभई समाजमा उठाएका विषयबस्तु र सवालले उनलाई चर्चित गराएको उहाले बताउनुभयो । उहाले भन्नुभयो, “जिल्लामा पनि त्यस प्रकारका प्रशस्तै सवाल छन्, यहाँका पत्रकारले त्यसमा ध्यान दिनुपर्छ ।”


कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद विष्णु पन्थीले रेडियो मायादेवीका कार्यक्रम प्रस्तुतीले जनताको मन जितेको भन्दै यसलाई निरन्तरता तर्फ जोड दिनुपर्ने बताउनुभयो । सांसद पन्थीले रेडियोमा आर्थिक सम्बृद्धि संगै सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नेपालको सन्दर्भमा सञ्चारको विकासका लागि आर्थिक समृद्धि पनि महत्वपूर्ण रहेको भन्दै आर्थिक समृद्धिको दिशामा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाले भन्नुभयो, “जिल्लाको आर्थिक, सांमाजिक र भौतिक विकासका लागि सञ्चार माध्यम पनि साझेदार हुन ।” उहाले सञ्चार माध्यमको विकास विना सामाजिक विकृती, विसंगती अन्त्य हुन नसक्ने भन्दै सबैले सञ्चार माध्यमसंग सहकार्य गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले रेडियो मायादेवीमा दक्ष र अनुभवी टिम भएको भन्दै यसलाई सदैव निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभयो । जिल्लामा रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै सिंगो लुम्बिनी अञ्चलमा पनि उत्कृष्ट रेडियो बन्ने संकेत देखिएको बताउनुभयो । रेडियोले अहिलेको स्प्रिटलाई कायम गर्न सकेर टिममा दीर्घकालिन एकता हुनसके मुलककै नमुना रेडियो बन्नेमा आफु आशाबादी रहेको बताउनुभयो ।


यस क्षेत्रका समाजसेवी तथा उद्यमी विष्णु प्रसाद न्यौपानेले रेडियोका प्रस्तुतीहरुबाट आफु प्रभावित भएको भन्दै यसलाई सदैव टिकाई राख्नुपर्नेमा जोड दिनुभयो । सञ्चार माध्यमका लगानीकर्ताहरुले तत्काल आर्थिक लाभ लिन भन्दा पनि सामाजिक रुपान्तरणमा यसले खेलेको भूमिकाबाट सन्तृष्ट हुनुपर्ने औल्याउनुभयो ।


नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुका सचिव हरि अधिकारीले सञ्चार माध्यमले समाजका लुकेका कुराहरुलाई उजागर गर्न सक्नुपर्ने बताउनुभयो । सञ्चार माध्यममा ठूलो र सानोको आयतन नहुने भन्दै यसले दिने प्रस्तुती नै महत्वपूर्ण रहेको बताउनुभयो । रेडियो मायादेवीले स्थापनाको छोटो समयमा जिल्लाका विविध सवाहरुको उठान गर्न सफल भएकोमा प्रशंसा गर्नुभयो ।


रेडियोका अध्यक्ष नन्दकिशोर शुक्लाले मिडिया सञ्चालन गर्न ठूलो चुनौती रहेको भन्दै यसको लागि मिडियाका लगानीकर्ताले सहयोग गर्नुपर्ने बताउनुभयो । सञ्चार माध्यमलाई टिकाउने, जोगाउने र सफल बनाउने काम त्यहाँका कर्मचारीको हातका भएको हुँदा मालिक र नोकरको सम्बन्ध हुन नहुने बताउनुभयो ।
वरिष्ठ साहित्यकार तथा संस्कृतीका जानकार ऋषिकेशव भारद्धाजले नेपाली भाषा तथा साहित्यको संरक्षण तथा सम्बर्धनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै जिम्मेवार ढङ्गबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
रेडियोका अध्यक्ष शुक्लाको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य माधव भाट क्षेत्री लगायतले बोल्नुभएको थियो । रेडियोका निर्देशक तथा समाचार प्रमुख दिपक अनुरागीको सञ्चालन, कार्यकारी निर्देशक थानेश्वर अधिकारीको स्वागतमा सम्पन्न कार्यक्रममा स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले कार्यक्रमको औचित्य माथि प्रशंसा पार्दै रेडियोले अहिले सम्म गरेका प्रस्तुती र प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।


कार्यक्रममा रेडियोका लगानीकर्ता तथा कर्मचारीको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी शेयरधनीले रेडियो पुन सुचारु भएकोमा खुसी व्यक्त गर्दै रेडियोलाई थप स्तरउन्नती गर्नका निम्ती आफुहरु तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७५ बिहिबार ००:००  ३ : ३९ बजे