७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सुदूरपश्चिममा स्क्रब टाइफस रोगको संक्रमण बढदो, दुई जनाको मृत्यु



डडेल्धुरा ।
सुदूरपश्चिममा स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गैरहेको छ । स्क्रब टाइफसका कारण दुईजनाको ज्यान गएको छ ।
डडेल्धुराको अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलंगाकी ९ वर्षीया बालिका गंगा पन्तको स्क्रब टाइफसको कारण ज्यान गएको छ । भट्टको उपचारका क्रममा धनगढीमा र पन्तको नेपालगञ्जमा मृत्यु भएको हो ।
उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेनडेण्ट डा। जितेन्द्र कँडेलका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पछिल्लो ४१ दिनको अवधिमा १ सय ३० जनालाई जाँच गर्दा ५० जनामा स्क्रब टाइफस रोगको संक्रमण देखा परेको छ । संक्रमित ५० जनाको अहिले उपक्षेत्रीय अस्पताल उपचार भइरहेको डा। कँडेलले जानकारी दिनुभयो ।
रोगको संक्रमण बढ्दै जान थाले पछि अहिले उपक्षेत्रीय अस्पतालमा बिरामीको चापसमेत बढेको छ । डडेल्धुरालगायत बैतडी, डोटी र बझाङमासमेत यस रोगको संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।
जिल्लाको अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिकासँगै बैतडी, डोटी र बझाङबाट पनि संक्रमण देखिएका बिरामीहरू उपक्षेत्रीय अस्पताल आउने गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
स्क्रब टाइफस रोग लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जिउमा रातो दाग देखा पर्ने, टाउको धेरै दुख्ने लक्षण देखा पर्ने हुन्छ ।
अहिले यो रोगका लक्षण सुदूरपश्चिममा बढी देखा परिरहेको र रोगको संक्रमण तीव्ररुपमा बढीरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले बताउनु भएको छ ।
रोगको समयमै उपचार नभएमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिन्छ र बिरामीको ज्यान जान सक्छ ।
सर्वप्रथम सन् १९३० मा यो रोग जापानमा देखा परेको थियो । तर अहिले नेपालका धेरै ठाउमा देखा परिसकेका छ । ओरेन्सिया सुसुगमुसी नामक परजीवीको संक्रमणले स्क्रब टाइफस हुने गरेको छ । यसलाई एक प्रकारको ‘माइट’ जातिको सुक्ष्म किराले एक अर्कामा सार्ने गर्दछ ।
दोस्रो विश्वयुद्ध चल्दै गर्दा सेनाहरु जंगलको झाडी हुँदै हिँड्दा ‘माइट’ले टोकेको र टोक्ने क्रममा ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवि पनि शरीरमा छोडेकोले यो रोगको संक्रमण देखा परेको थियो । नेपालमा भने मुसाको कारण रोग सरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  ७ : ०७ बजे