७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

विषादी हालेर मौरी मारेपछि किसान त्रसित



काठमाडौँ ।

दाङमा विषादी हालेर किसानको ४४ गोलामौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आङ्का किसानमा छ । नेपाल मौरीपालक महासङ्घले यस्तै अवस्था रहे पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउने भन्दै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले चराउन राखिएको मौरीको गोलामा विष हालेर मार्नु किसान विरुद्धको अपराध भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो । पौडेलले पीडितलाई उचित क्षतिपूर्ति दिन समेत सरकारसँग माग गर्नुभएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा मौरी चराउने क्रममा चितवनको कालिका नगरपालिका–९ का किसान विकास नेपालको ४४ गोला मौरी विषादी हालेर नष्ट गरिएको महासङ्घले जनाएको छ

महासङ्घका अध्यक्ष पौडेलका अनुसार अन्य मौरीमा क्षति नपुगोस् भनेर कात्तिक ४ गते विषादीले मौरी मरेपछि उक्त घारलाई सोमबार जलाएर नष्ट गरिएको हो । उक्त घटना पहिलो भने होइन । दाङमा पटक÷पटक यस्ता घटना भइरहेका छन् । विगतमा लक्ष्मी मानन्धरको मौरीका घार समेत यसैगरी नष्ट भएको थियो ।

विसं २०७३ मा पनि दाङको रामपुरमा खेम न्यौपाने र विष्णु भुसालको मौरीका गोला यसैगरी नष्ट गरिएको महासङ्घका अध्यक्ष पौडेल बताउनुहुन्छ । दाङ, मौरीको चरनका लागि मुख्य जिल्ला मानिन्छ । चितवन, काठमाडाँैलगायत तराईका जिल्लाबाट अहिले दाङमा मौरी चराउने किसानको भीड छ ।

तोरी र चिउरी पहिले नै फूल्ने भएकाले दाङमा चितवन, काठमाडाँै, मकवानपुर, सर्लाही, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही लगायत जिल्लाका किसान मौरी चराउन पुग्ने गर्दछन् । दाङमा अहिलेको मौसममा चराउन विभिन्न जिल्लाबाट करीब ३० हजार गोला मौरी लगिएको अनुमान छ । (रासस)

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  २ : ३७ बजे