७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

वाणगंगामा बाल अधिकारको संरक्षण तथा सम्बर्धनका लागि छलफल



दीपा महत, वाणगंगा ।        

बाल अधिकारको संरक्षण तथा सम्बर्धनका लागि नगरपालिकाका पदाधिकारी र सरोकारवालाले छलफल गरेका छन । वाणगंगा नगरपालिका स्थित जितपुरमा सम्पन्न अन्तरकृया कार्यक्रममा बाल अधिकारको दृष्टीकोणबाट स्थानीय तहको योजना तर्जुमा प्रकृयाबारे छलफल गरिएको हो ।

कार्यक्रम केन्द्रिय बालकल्याण समितीको आयोजना र सामाजिक विकास मन्त्रालय प्रदेश ५ को सहकार्यमा भएको हो । कार्यक्रममा बोल्दै प्रदेश ५ कि प्रमुख महिला विकास अधिकृत प्रज्ञादेवी निरौलाले वाणगंगालाई बालमैत्री नगरपालिका घोषणा गर्न प्रदेश सरकारले सहकार्य गर्ने बताउनुभयो ।

यस्तै वाणगंगा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासिनीले वाणगंगा नगरपालिकामा बाल हिंसा लगाएतका घट्नाहरु कम हुने गरेको भन्दै अब यस प्रकारका घट्नालाई न्यूनिकरण गर्नुपर्ने बताउनुभयो ।

उहाले २०७७ भित्रै वाणगंगालाई बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी रहेको भन्दै वाणगंगालाई पूर्ण भर्ना नगरपालिका घोषणा गर्ने बताउनुभयो । वाणगंगामा कुपोषणको अवस्था जटिल रहेको भन्दै यसको न्यूनिकरणका लागी प्रदेश सरकार तथा मन्त्रालयबाटै विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

जिल्लाका अन्य नगरपालिकामा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाको सहयोग रहेपनि वाणगंगामा त्यसो नभएकाले यस तर्फ पनि ध्यानाकर्षण गराउनुभएको थियो ।

अन्तरकृयामा भएको खुला छलफलमा बालबालिका तथा महिलाको सम्बन्धमा कुनै योजना बनाउदा सम्बन्धित ब्यक्तीको सहभागिता आवश्यक रहने भन्दै दलित समुदायका बालबालिकालाई पनि सहभागि गराउनुपर्नेमा जोड दिइएको थियो ।

अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा वाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले वाणगंगालाई बालमैत्री नगर बनाउन निरन्तर लागि परेको बताउनुभयो ।  आर्थिक अभावकै कारण समस्या भएको भन्दै यसका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको प्रस्तुतीकरण बाल अधिकार स्रोत ब्यक्ती भिम अवस्थी र महिला विकास अधिकृत  प्रतिभा पन्थीले गर्नुभएको हो । कार्यक्रमको संचालन महिला विकास निरिक्षक शुसिला पन्थले गर्नुभएको हो ।

अन्तरकृया कार्यक्रममा वाणगंगा नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, बालबालिका तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  २ : ३३ बजे