७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

जनता स्वयम् नै संघीयताको विपक्षमा – केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्न लागेको बताउनुभएको छ ।
नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयम् नै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघीयताको विपक्षमा आफ्नो पार्टीले संसदमा संशोधन प्रस्ताव हाल्न लागेको बताउनुभएको छ ।

सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता विरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताउनुभयो । कांग्रेस एमालेले समेत संघीयता नचाहेको तर बाध्यतामा परेर संघीयता स्वीकारेको भन्दै उहाँले संघीयता ठूला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाइदिएको एजेण्डा भएको समेत उहाँको भनाई छ ।

साथै उहाँले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दावी गर्दै नेपालमा संघीयता भनेको ‘खर्च न पर्च, कासी जानुपर्छ’ भने जस्तै भएको र अहिले ठूला दलहरुलाई पनि संघीयता ‘नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ भने जस्तै गलपासो भएको बताउनुभयो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  ९ : ०९ बजे