११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा नेता र शुभेच्छुकको घुइँचो



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना भएको थाहा पाउनेबित्तिकै धेरैले उहाँको स्वास्थ्यअवस्थाबारे सोधीखोजी गरेका छन् । शिक्षण अस्पताल महाराजगंजमा नेता, कार्यकर्तादेखि शुभेच्छुकको घुईंचो लागेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री उपचारार्थ शिक्षण अस्पतालमा पुगेर अध्यक्ष दाहालले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका महासचिव विष्णु पौडेल, नेता झलनाथ खनाल पनि अस्पताल पुग्नुभएको छ ।
यस्तै गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी, केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।
प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्कनुभएका नेकपा नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिनुभयो ।
शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ती निकालेर प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार रहेको जानकारी दिएको छ ।
सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ठ श्रेष्ठले प्रधानमन्त्रीको अरु स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रधानमन्त्रीको छातीमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको छ ।
केही दिनदेखि अस्वस्थ्य भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीलाई अस्पतालको कोरोनरी केयर युनिट अर्थात सीसीयूमा राखिएको उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले उज्यालोलाई जानकारी दिनुभयो ।
छातीमा संक्रमण भएकाले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो । डाक्टर अरुण सायमीको नेतृत्वमा प्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह र छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास संलग्न हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयले हिजो विज्ञप्ति निकालेर उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  ७ : ५२ बजे