चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुमा पहिलो पटक भजन कन्सर्ट सहितको लागु पदार्थ तथा दुव्र्यसन विरुद्ध जनचेतना एवम् विशाल श्रीमद्भागवत कथा २०७५ आयोजना हुने भएको छ । जिल्लामा सामाजिक, धार्मिक, सांस्कृतिक सद्भाव र जागरण कायम गर्न र आध्यात्मिक कथा प्रवचनको नाममा मुलुकभर धर्मको नाममा भइरहेको व्यापारीकरणलाई रोक्न यस प्रकारको कार्यक्रम हुन लागेको हो ।
सामाजिक भावनाबाट प्रेरित भएर जितपुर टोल विकास समिति बाणगंगा ४ को आयोजना, बाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाइटी, राजेश आस्था फाउण्डेसनको सहकार्य तथा अन्र्तराष्ट्रिय ख्यातीप्राप्त विश्वव्यापी सांस्कृतिक जागरणका अभियान्ता व्यासाचार्य भुवन गुरुको तत्वाधानमा यही मंसिर ३ गतेदेखि १० गतेसम्म कार्यक्रम आयोजना हुने छ ।
कार्यक्रमको अर्को लक्ष्य जिल्लाका प्रमुख पर्यटकीय चिनारीलाई विश्वभर पुर्याउने रहेको छ । जिल्लाका तिलौराकोट, नन्दनगर, श्रृङगीघाट, भागिरथी नदी, शिवपुर, जगदिशपुर, राजापानी, सुपा देउराली पिपरा, वंगलामुखी मन्दिर, मधुवनधाम,लक्ष्मण्मघाट,रामदतिवन, कपिलधाम, बालाकण्ठ,पिपराको प्रकटेश्वर,उप्टहवाको छापेढुङगा,वैरियाको शिवालय मन्दिर आदिबारे रहेका किंवदन्ती, ऐतिहासिक पृष्ठभूमि र लुकेर रहेको विषयबस्तुहरुको बारेमा जानकारी दिइने छ । सात दिनसम्म श्रीमद् भागवत कथा वाचन संगै ती स्थानको चिनारीको बारेमा व्यासाचार्य भुवन गुरुले प्रकाश पार्नु हुने छ । जिल्लाका ती धार्मिक, सांस्कृतिक तथा पर्यटकीय चिनारीलाई ती स्थलहरुमा फोटो प्रदर्शनीको रुपमा राखिने छ ।
ब्यासाचार्य भुवन गुरुका अनुसार बिभिन्न कुलत तथा दुव्र्यसनमा फसेर पुर्नस्थापित भएका युवाहरुलाई कर्ताको रुपमा राखिने छ । उहाँले मुलुकमा नैतिकता र मानवीयता शुन्य भएका कारण दैनिक रुपमा युवायुवती पथभ्रष्ट भएको र बलात्कार लगायतका हिँसात्मक र आपराधिक घटनमा संलग्न रहेको भन्दै यसको न्यूनिकरणको लागि एक हप्तासम्म आध्यात्मिक र नैतिक शिक्षा प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रम पैसा उठाउनमा केन्द्रित हुने छैन । बाणगंगा नगरको अति पर्यटकीय चिनारी जितपुरको वंगलामुखी दुर्गा मन्दिरमा हुने कार्यक्रममा कुनै व्यक्तिलाई सहयोगको लागि अपिल पनि गरिने छैन, जितपुर टोल विकास समितिका अध्यक्ष मदन ढुङ्गानाले भन्नुभयो– “कुनै व्यक्तिलाई यति लाख र उति लाख भनेर बाजागाजामा नचाइने छैन ।” कार्यक्रमबाट प्रेरित भएर जो कोहीले सहयोग भने गर्न सक्ने छन् । हुने खाने र भए खाने सबै वर्गको समान सहभागिता रहने गरी कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा धान चामलको सट्टा आफ्नो घरमा एकपटक प्रयोग गरिसकिएका वा अन्य सफा लत्ता कपडा जम्मा गर्न सकिने जनाइएको छ । यसरी जम्मा भएका सुहाउँदा र उपयुक्त लत्ता कपडा बिभिन्न विपन्न तथा गरिव बालबच्चलाई लगेर वितरण गरिने छ ।
बाणगंगा स्पोट्स एण्ड वेलफेयर सोसाइटी र राजेश आस्था फाउण्डेसनले पनि यो कार्यक्रम धार्मिक क्षेत्रमा हु्ने विकृति र विसंगति रोक्नका लागि एउटा क्रान्ति नै सावित हुन सक्ने भएकाले सहकार्य गरेका हुन् । भूवन गुरुको सो प्रस्ताव मन परेपछि आफुहरु पनि यस कार्यक्रमका लागि लालायित भएको र सामाजिक जागरण कायम गर्नको लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सहकार्यको लागि तयार भएको उनीहरुले बताएका छन ।
कार्यक्रमको उद्घाटन पनि फरक ढङ्गले हुने छ ।
धेरै स्थानमा प्रमुख अतिथि एक जना रहने र रिविन काटेर र पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन हुने गरेकोमा यस कार्यक्रममा भने दुव्र्यसनमा फसेर अहिले पुर्नस्थापनाको जीवन बाँचेका मध्ये प्रेरक एक जना, ज्येष्ठ नागरिकबाट एक जना, प्रेरक महिला या नगरको महिमालाई राष्ट्रिय अन्राष्ट्रिय स्थानमा पुर्याउन सफल भएका कुनै एकजना गरी तीन जनाले संयुक्त रुपमा फरक ढंगले उद्घाटन गर्ने टोल विकास संस्थाले जनाएको छ । कार्यक्रममा हरेक दिन फरकफरक जातजातीले बिभिन्न सांस्कृतिक प्रस्तुति दिने छन् ।
कार्यक्रमको थप सुन्दर पक्ष भनेको भजन कन्सर्ट हो । दिनभर आध्यात्मिक भागवत बाचन र राति लाईभ भजन कन्सर्ट गरिने सांस्कृतिक समितिले जनाएको छ । नेपाल तथा भारतबाट झिकाइएका म्युजिसियन तथा बाद्यबादन सहितको टोलीले साँझको समयमा मज्जाले झुमाउने गरी बिभिन्न संस्कृतिका भजनहरु कन्सर्टको रुपमा २ घण्टा प्रस्तुत गर्ने छन् । भजन परम्परागत नभएर नयाँ रिदम र नयाँ शैलीमा युवापुस्तालाई आकर्षित गर्ने गरी प्रस्तुत गरिने छ ।
कार्यक्रममा कुनै पनि राजनैतिक दलका व्यक्तलाई राजनैतिक पृष्ठभूमिबाट आसन ग्रहण गराइने छैन । उनीहरुलाई समाजमा योगदान दिएको आधारमा समाजसेवी, बौद्धिक या प्रेरक भनेर आसन ग्रहण गराइने छ ।
कार्यक्रमलाई भक्ति दर्शन टेलिभिजन काठमाण्डौँले छायाँकन गरी संसारभर प्रसारण गर्ने मिडिया संयोजक चन्द्रकान्त न्यौपानेले जानकारी दिनुभयो । रकम संकलन गर्ने उद्धेश्य नहुँदा नहुँदै पनि कार्यक्रममा सहभागी भई अन्तर आत्माबाट प्रेरित भएर गरिएको जुनसुकै सहयोगलाई मन्दिरको संरक्षण विकास र सामाजिक क्षेत्रमा प्रयोग गरिने आयोजकले जनाएको छ ।
आइतबारदेखि नै कार्यक्रमलाई सफल पार्न प्रचारप्रसार गर्ने तथा बिभिन्न समिति उपसमिति निर्माण गरी गृहकार्य सुरु भएको छ । भजन महोत्सव सफल पार्नको लागि अनुमानित १२ लाख रुपैयाँ खर्च हुने छ ।
को हुनुहुन्छ भुवन गुरु !
कपिलवस्तुको भक्तौलीमा जन्मेर, सोही ठाउँमा हुर्केर अहिले अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त गर्नुभएका गुरु भुवनले अहिलेसम्म देशका बिभिन्न स्थानमा यस्ता कार्यक्रम मार्फत सांस्कृति जागरण ल्याउन महत्वपूर्ण भूमिका निभाउनु भएको छ ।
गत बर्षदेखि उहाँले अन्तराष्ट्रिय जगतमा पनि आफ्नो प्रतिभालाई पुर्याइसक्नु भएको छ ।गत बर्ष मात्रै युरोपका नर्वे, बेल्जियम र पोल्याण्डमा कार्यक्रम गर्नुभएका ब्यासाचार्य भूवन गुरुका अष्ट्रेलिया र अमेरिकामा पनि कार्यक्रम तय भएका छन् ।
प्रतिक्रिया