चन्द्रकान्त न्यौपाने ।
मेस्सीविनाको बार्सिलोनाले एल क्लासिको भीडन्तमा रियल मड्रिडको पोष्टमा ५ गोलको वर्षा गरेको छ ।
सन् २००७ यता रियलका रोनाल्डो र बार्सिलोनाका मेस्सीबीना भएको खेलमा ५–१ के जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लुइस सुवारेजले ह्याट्रिक पुरा गरे ।
११औं मिनेटमा नै फिलिप काउटिन्हाको गोलबाट अग्रता कायम गरेको बार्सिलोनाले एकपछि अर्को गर्दै गोल गर्ने क्रम खेलको अन्तिम समयसम्म जारी राख्यो ।
पहिलो हाफमा नै २ गोलको अग्रता लिने क्रममा बर्सिलोनाको लागि ३०औं मिनेटमा लुइस स्वारेजले पेनाल्टी मार्फत गोल गरे । रियलमा राफेलले स्वारेजलाई तानेर लडाए । त्यसपछि बार्साले पेनाल्टीको अपिल गर्यो । पेनाल्टीको लागि ला लिगामापहिलो पटक प्रयोग गरिएको ‘भार’ प्रविधिबाट रेफ्रीले पेनाल्टी दिए । त्यसमा स्वारेज चुकेनन् । उनले प्रहार गरेको पेनाल्टी बलले सिधै जाली चुम्यो ।
पहिलो हाफमा २ गोल खाएको रियलले दोश्रो हाफको सुरुबाटै राम्रो खेल देखायो । एकपछि अर्को गर्दै बार्साको पोष्टमा प्रहार गर्ने क्रममा ५० औं मिनेटमा भेट्रान खेलाडी मार्सेलोले गोल गर्दै रियलको लागि गोल दुरी कम गरे ।
तर त्यो लयलाई रियलले अन्तिमसम्म जारी राख्न सकेन । ७५औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि तेस्रो गोल गरे । त्यसपछि रियलको लय गुम्यो । र बार्सिलोना हावी भयो । रियललाई दबाबमा राख्दै ८३ औं मिनेटमा सर्जियो रोबर्टोको पासमा स्वारेजले ह्याट्रिक पूरा गरे । त्यसपछि रियल स्तब्ध नै थियो ।
रियलको त्यो चोटमा फेरि डेम्बेलेको पासमा अटुरो भिडालले ८८ औँ मिनेटमा गोल गर्दै थप चोट दियो । र बार्सिलोनालाई रियलमाथि ५–१ को फराकिलो जित निश्चित भयो ।
सन् २००७ यता पहिलो पटक क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबिनाको ला लिगाको एल क्लासिको भएको हो । मेस्सी र रोनाल्डोबिनाको एल क्लासिको खल्लो हुने अनुमान गरिए पनि अनुमान सही हुन सकेन । यसै सिजनमा रियल छाडेर रोनाल्डो युेभन्टस गएपछि रियलले पहिलेको लय लिन सकेको छैन भने अस्वस्थ भएका कारण मेस्सी खेलेका छैनन्
प्रतिक्रिया