काठमाडौं ।
निर्मला हत्याकाण्ड प्रकरणका दोषी भनिएका तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज जगदिश भट्टलाई बिहीबार सेवाबाट बर्खास्त गर्ने निर्णय गरेसंगै बिभिन्न प्रतिक्रिया आउन थालेका छन् । कतिपयले विष्ट र भट्टलाई गृहमन्त्रालयले वर्खास्त गरेर सही गरेको भनेका छन् भने कतियले वास्तविक दोषीलाई पत्त नलगाई प्रहरीलाई वर्खास्त गर्दैमा निर्मलाका परिवारले न्याय पाउन नसक्ने बताएका छन् ।
परिवार के भन्छ ?
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तले एकदुई जना प्रहरीलाई सेवाबाट हटाएर आफूहरुले न्याय नपाउने प्रतिक्रिया दिएका छन् । घटनामा संलग्न अपराधीलाई पत्ता लगाएर हदैसम्मको कारबाही गरेमात्रै आफ्नी छोरीको आत्माले शान्ति पाउने उनीहरुले बताएका हुन् ।
निर्मलाका बुवा यज्ञराजले भने प्रहरीलाई जागिरबाट हटाउनु भन्दा पनि आफ्नी छोरीको हत्यारालाई सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको हो ।
‘मैले सुरुदेखि नै हामीलाई न्याय चाहियो, छोरी निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्यो भन्दै आएको छु, तर सरकार हत्यारालाई सार्वजनिक गर्न सकिरहेको छैन, एक दुई जना प्रहरीलाई सेवा बाट हटाएर मेरी छोरीको आत्माले शान्ति पाउदैन, घटनामा यो भन्दा बढी लापरबाही गर्ने प्रहरीहरु पनि छन् उनीहरुलाई पनि कारबाही गर्नुपर्यो, सबैभन्दा पहिले त हत्यारा सार्वजनिक गर्नुपर्यो,’ पन्तले भन्नुभयो ।
डा. भट्टराईले दिए यस्तो जावाफ
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताउनुभएको छ। उहाँले अपराधी पत्ता लगाउन राज्यलाई निरन्तर दबाब दिनुपर्ने पनि बताउनुभएको छ ।
फेसबुक र ट्वीटरमा उहाँले प्रश्न गर्नुभएो छ ‘बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ? जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् र ? त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ? प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत किन अपराधी पत्ता लाग्दैन ? दबाब जारी राखौँ ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई गृह मन्त्रालयले बर्खास्त गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
यस्तै कांग्रेस लगायत अन्य राजनैतिक दलका नेता, विश्लेषक र बौद्धिक व्यक्तिले पनि यसको पक्ष र विपक्षमा आवाज निकाल्न थालेका छन् ।
अदालत जान्छु–विष्ट
गृह मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाएका एसपी डिल्लीराज बिष्टले आवश्यक कानुनी उपचारका लागि अदालतको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन्।
गृहको निर्णयपछि प्रतिक्रिया दिँदै एसपी बिष्टले सरकारको निर्णयबिरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् ।
प्रतिक्रिया