मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगरमा नवदुर्गा पूजाको मूर्ती विर्सजनका क्रममा विवाद सिर्जना भएको छ । कृष्णनगर बजार भित्र नवदुर्गा भर पूजा गरीएका मूर्तीलाई विसर्जन गर्न लैजाने क्रममा बाटोमा शनिबार दिउँसो विवाद सिर्जना भएको थियो ।
कृष्णनगरबासीका अनुसार मूर्ती विसर्जन गर्न लैजाने क्रममा मूर्तीलाई भिडियो बनाएर खिच्दै गरेका केही मुस्लिम समुदायका युवा र भिडियो खिच्न रोक्न खोज्ने हिन्दु समुदायका युवाहरु बीच विवाद सिर्जना भएको हो । मुस्लिम समुदायका स्थानीय युवाले मूर्ती विसर्जनका बेला भैरहेको जात्रा र नाचको भिडियो खिचिरहेका थिए ।
कृष्णनगरमा अवस्थित नैमिया मस्जिद अगाडी ती मुस्लिम युवाले दुर्गा मूर्तीको भिडियो बनाएका हुन । सोही भिडियो बनाउँदै गरेको अवस्थामा हिन्दु समुदायका केही युवाले भिडियो नबनाउन आग्रह गरेको बताइएको छ । उक्त आग्रहलाई मुस्लिम समुदायका युवाले नमानेको भन्दै हिन्दु समुदायका युवा आक्रमणमा उत्रेपछि विवादले उग्ररुप लिएको बताइएको छ । पछि दुर्गा विसर्जन गर्न हिडिरहेका भक्तजन माथि मुस्लिम समुदायका केही युवाले ढुङ्गा प्रहार गर्न थालेपछि दोहोरो ढुङ्गा हानाहान भएको बताइएको छ ।
कृष्णनगरका समाजसेवी कृष्णकुमार गुप्ताका अनुसार मूर्ती विसर्जनका क्रममा भएको विवाद दुवै पक्षका युवाको कमजोरीमा भएको हो । भिडियो बनाएर खिच्ने र भिडियो नबनाउन आग्रह गर्ने दुवै पक्षका युवालाई पक्राउ गरी वातावरणलाई शान्त पार्न प्रहरी सामु पटक पटक आग्रह गरेपनि प्रहरीले कुनै चासो नलिएको गुप्ताले गुनासो गर्नुभयो । दुवै पक्षको कमजोरी भएकै हो त्यो स्थानीय प्रशासनले समयमै बुज्न सकेन गुप्ताले भने, “सामान्य विवादले धार्मिक रुपमा मन्तभिन्नता बढायो ।”
वडादशैको भोली पल्ट हरेक बर्ष त्यहाँका हिन्दु समुदायले दुर्गाको मूर्ती विसर्जन गर्दै आएपनि यसपालि रोकिन पुगेको छ । विवादले अग्ररुप लिएपछि जिल्लाबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितीमा पनि दुर्गाको मूर्ती विसर्जन गर्न समस्या भएको थियो ।
हिन्दु समुदायले मूर्ती विसर्जनलाई सधै प्रयोग गर्नेबाटो प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए । प्रशासनले सो बाटोको प्रयोग नगर्न आग्रह गरेपनि हिन्दु समुदायले नमाने पछि त्यहाँ झडपको स्थिती सिर्जना भएको बताइएको छ ।
झडपबाट स्थानीय दुई युवा घाइते भएका छन । घाइते हुनेहरुमा कृष्णनगरका सोनु गुप्ता र सोही स्थानमा राम भन्ने युवा घाइते भएको कृष्णनगरबासीले बताएका छन् । गुप्ताको भैरहवामा उपचार भैरहेको छ भने राम भन्ने युवाको भारतमा उपचारका लागि लगिएको बताइएको छ । यस्तै झडपमा केही व्यक्ति घाइते भएका थिए ।
सामान्य विवादलाई धार्मिक साम्प्रदायिक संग जोडिन थालेपछि जिल्ला प्रशासन कार्यालयले निकै सजकता अपनाएको छ । प्रशासनले त्यहाँका राजनैतिक दल, भद्रभलाद्मी संग बसेर सहमतीको बाटो खोज्ने प्रयार गरेको थियो । शनिबार साँझ मात्र प्रशासनले दुवै समुदायलाई राखेर सहमतीको प्रयास गरेको थियो । दुवै धार्मिक समुदायलाई मर्म नपर्ने गरी सहमतीको विन्दु खोज्ने प्रयास गरेको बताइएको छ ।
हिन्दु समुदायले पुरानै बाटोको प्रयोग गर्न पाउनुपर्ने अडान राखेपछि अहिले उक्त बाटोको माध्यमबाट दुर्गाको मूर्ती विसर्जन गर्ने तयारी भैरहेको बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रवि रावललाई घटनाबारे बुज्न खोज्दा आफु छलफल मै रहेको र विवाद सामान्य रहेको बताउनुभयो । उता प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल लगायतका सरकारी अधिकारीहरु पनि घटनाको समाधानका लागि कृष्णनगर गएको जनाइएको छ ।
प्रतिक्रिया