भुपाल थापा, कपिलवस्तु ।
बडादशै अन्तर्रगत नवदुर्गाको अवसर पारि कपिलवस्तुको विभिन्न स्थानका चोक चोकमा पुजाको रुपमा राखिएको दुर्गाको मूर्तीलाई शनिबारदेखि विर्सजन गर्न थालिएको छ । विशेष गरी तराई क्षेत्रका समुदायले नवदुर्गा भरी दुर्गालाई बिशेष तरीकाले मुख्य मुख्य बजारमा राखि पुजाआजा गर्ने गर्दछन् ।
मुख्य चोक चोकमा दुर्गा भवानीका मुर्ति राखि पुजा गर्नाले धेरै दर्शनार्थीले अवलोकन गर्ने गरेको आयोजक बताउँछन् । जिल्लाको सदरमुकाम तौलिहवा, चारनम्बर, चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, गणेशपुर लगायतका मुख्य बजारमा टेन्ट टागी, भक्ति गित संगित सुनाई नौ दुर्गा भरी नै दुर्गाको पुजाआजा गरिएको थियो ।
यहि दुर्गालाई दशैको भोली पल्ट नजिकको ताल, तलौया, नदीमा बिर्सजन गर्ने चलन छ । यद्यपि पहाडिया समुदायमा भने मन्दिरमा गरिएको नवदुर्गाको पुजालाई सराय जात्राको माध्यमबाट नदीमा ल्याई फुलपाती बिर्सजन गर्ने चलन छ । त्यो क्रम दशैको भोली पल्ट एकादशी देखि शुरु भई कोजाग्रत पुर्णिमा सम्म चल्ने गर्दछ ।
शनिबार जिल्लाको चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, पकडी, तौलिहवा, लक्ष्मणघाट लगायतको स्थानमा मूर्ती विसर्जन गरिएको छ । यस्तै कृष्णनगरमा मूर्ती विसर्जन गर्ने क्रममा भने स्थानीय बजारबासी बीच झडपको स्थिती सिर्जना भएको छ । झडपको स्थितीले त्यहाँ मूर्ती विसर्जन गर्ने काम रोकिएको बताइएको छ ।
यता धार्मिकस्थल लक्ष्मणघाट नदीमा शनिबार कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानबाट ल्याइएका सयौ मूर्तीहरु विर्सजन गरिएको छ । हजारौको संख्यामा आएका भक्तजनको सहभागीतामा मूर्ती विसर्जन गरिएको लक्ष्मणघाट सामाजिक विकास संस्थाका कोषाध्यक्ष सन्दीप न्यौपानेले जानकारी दिनुभयो । भक्तजनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडा कार्यालय र विभिन्न संघ संस्थाले व्यवस्थित पार्ने काम गरेका थिए । शान्त र मर्यादित तरिकाबाट मूर्ती विसर्जन भएको न्यौपानेले बताउनुभयो ।
हरेक बर्ष दशैंको अवसरमा तराईमा दुर्गाको मुर्ति बनाउने क्रमले तिब्रता पाउने गरेको छ । दशैंमा दुर्गाको मुर्ति बनाउने र पुज्ने चलनले धर्म र आस्थाका नाममा फजुल खर्च बढाउनुका साथै चन्दाको नाममा बटुवाले दुःख पाउने गरेको भन्दै दुर्गालाई मन्दिर बनाई स्थायित्व दिनुपर्नेमा माग छ ।
आस्थाका नाममा बनाईने अस्थाई मुर्तिमा लाखौंको खर्च हुने र अवशेष केही नरहने हुदा यसलाई रोक्नुपर्नेमा सामाजिक अभियान्ताले जोड दिदै आएका छन् ।
४ कार्तिक २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया