१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बाणगंगा ९ मा चाडपर्व व्यवस्थापन सम्वन्धि समिति गठन



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको बाणगंगा ९ भलवाडमा पनि चाडपर्व व्यवस्थापन सम्वन्धि समिति गठन गरिएको छ । चाडपर्वलाई लक्षित गरी टोल स्तरमा मदिराजन्य पदार्थमा बिक्री बितरण नियन्त्रणका लागि सो समिती गठन गरिएको हो ।
सोमबार राजनैतिक दलका प्रतिनिधी, टोल बिकास संस्थाका अध्यक्ष, होटल व्यवसायी संघका सदस्य, युवा क्लव, बुद्धिजिवी, समाजसेवी, सञ्चारकर्मी बीच बसेको भेलाले विभिन्न निणर्य पनि गरेको छ ।
जस अनुसार होटल व्यवसायीहरुले मदिराजन्य पदार्थमा बिक्री बितरण गर्दा साँझको ५ वजे देखि राति ९ वजेसम्म मात्र गर्न पाउने, बालबालिकाहरुले मदिराजन्य पदार्थ बिक्री बितरण गर्न नपाउने, घरेलु हिंसा न्युनिकरणका लागि टोल बिकास संस्था मार्फत सचेतना जगाउने, चाडपर्वको समयमा साँस्कृतिक कार्यक्रम प्रदर्शन तथा सञ्चालन गर्दा शान्ति सुरक्षाको लागि वडा कार्यालय संग समन्वय गरी सञ्चालन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।
साथै सर्वदलिय तथा सर्वपक्षिय भेलाबाट मदिराजन्य पदार्थ बिक्री बितरण तथा नियन्त्रणका लागि वडाध्यक्ष धुर्व वेल्वासेको संयोजकत्वमा ११ सदस्ययी चाडपर्व व्यवस्थापन समिति गठन गरेको छ ।
जसमा वडाका सम्पूर्ण वडा सदस्यहरु, स्थानीय राजनैतिक दलका प्रतिनिधी, सबै टोल बिकास समितिका अध्यक्ष रहेका छन् । कार्यक्रम वडाध्यक्ष धु्रर्व वेल्वासेको अध्यक्षता वडा सचिव सन्तोष कुमार बैठाको सहजीकरणमा सम्पन्न भएको थियो । यसभन्दा अगाडी नगरका अन्य वडाले यस्तो निर्णय गरिसकेका छन ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  १ : ४९ बजे