मायादेवी अनलाइन ।
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको शनिबारराति निधन भएको छ । खुमलटारस्थित निवासमै उहाँको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । परिवारिक स्रोतका अनुसार बस्तोलाको गयराति ९ बजेर २० मिनेटमा निधन भएको थियो ।
लगतै डा. हरि शर्मालाई खबर गरिएको र उनले चेकजाँच गरेर मृत्यु भएको घोषणा गर्दा १०– २० भएको थियो । उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि आज पार्टी कार्यालय सानेपामा राखिने काग्रेशले जनाएको छ । अन्तिम श्रद्धाञ्जलीपछि उहाँको अन्तिम संस्कार गरिने छ ।
झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको अवस्था शनिबार विग्रिएको थियो । लगतै परिवारले बाँसबारीस्थित न्यूरो अस्पताल लगेको थियो । तर, थप उपचार असम्भव रहेको भन्दै ४ बजे डिस्चार्ज गरेको थियो ।
बास्तोलालाई पुनः खुमलटारस्थित निवास लगियो । साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेताहरू बास्तोला निवास पुगेर उनको अवस्थाबारे जानकारी लिएका थिए ।
बास्तोलाको शनिबार राति नै निधन भएको छ । उनका श्रीमती र दुई छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेको र भोलि आइपुग्ने पारिवारिक स्रोतले बताएको छ ।
१४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उसको होस आएको थिएन ।०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री थिए ।
प्रतिक्रिया