१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

अर्घाखाँचीको दुर्गम गाउँमा बिजुली पुगेपछि छाएको खुसी



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची सितगंगा नगरपालीकाको दुर्गम गाउँमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन् । पुर्व पश्चिम राजमार्ग नजिकै रहेका गाउँ भएपनि बर्षौ देखी टुकि दियालो बालेर आफ्नो दैनिकी गुजारा चलाउँदै आएका सिगगंगा ११ का कलौनी, जिमुरी, रजालीपाटा र दोबाटो दुर्गम गाँउका नागरिकको घरमा दशै अगाडी बिजुली बलेपछी उनिहरू खुसी भएका हुन् । पातलो र छरिएर रहेका वस्तीमा बिकासको गति सुस्ताए पछि बिकासको फल चाख्न नपाएका यहाँका नागरिकले अहिले स्थानीय सरकार निर्माण भैसके पछिको ठुलो संघर्ष र पहलमा नागरिकको घरमा बत्ती बलेको हो ।
धेरै पटकको अनुरोधमा सितगंगा नगरपालीका कार्यालयको १० लाख, वडा कार्यालयको २ लाख ५० हजार र जिल्ला समन्वय समिती बाट ट्रान्सफर्मर र पोलहरू सहयोग भएपछी दशै अगाडी बिजुली बत्ती बाल्न सफल भएको वडा अध्यक्ष कोपिला चन्द आले मगरले बताउनुभयो । गाँउमा बिजुली पुगेपछी गृहेणी महिलाहरूलाई बिहान बेलुका चुलो चौकाको काम गर्न सजिलो मात्र भएको छैन । छोराछोरीलाई लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न, कम्प्युटर चलाउन पनि उत्तिकै सजिलो भएको स्थानीय बताउँछन् ।
गाउँमा बिजुली पुराए पछि पुर्व उपप्रधान मन्त्री एवं प्रतिनिधीसभा सदस्य टोप बहादुर रायमाझी, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, सितगंगा नगरपालीकाका मेयर सुर्य प्रसाद अधिकारीले त्यहाँ पुगेर संयुक्त रूपमा बिजुली बत्ति बालेर उद्घाटन गर्नु भएको थियो । गाँउमा बिजुली ल्याउन यहाँका स्थानीय नागरिकले पुराएको योगदानको उच्च सम्मान गर्दै बाँकी रहेका केही घरधुरीमा पनि हामीले छिट्टै बत्ति बाल्ने योजना अनुसार काम भैरहेको वडा अध्यक्ष आलेमगरले बताउनुभयो ।
जिल्लाको साबिक सिद्धारा गाबिसमा अधिकांश गाउँ पातलो र छरिएर रहेको दुर्गम वस्ती रहेका छन् । त्यस्तो गाँउमा विकास पुराउन निकै खर्चिलो हुने गर्दछ । तर त्यस्तो पातलो र छरिएर रहेका वस्तीमा विकास पुराउनु भन्दा वस्तिलाई विकास हुन सक्ने संभावित क्षेत्रमा विकास गर्ने पैसाले वस्तिनै सारेर अन्यत्र स्थापित गर्न सकिने प्रति राज्यको ध्यान नपुगेको स्थानिय नागरिक बताउँछन् । सक्ने हुनेखानेहरू भएको जग्गा जमिन त्यसै छोडेर तराई बसाई सराई गरिसकेका छन् ।
वस्ति निकै पातलो हुदै गएको छ । सिद्दारा भित्रै धेरै खेतीयोग्य समथर जग्गा छन्। सजिलै विकासको पहुँच पुग्न सक्ने समथर जग्गा, सिंचाईको ब्यवस्था हुन सक्ने, खेति योग्य जमिनको पहिचान गरि आफुहरूलाई त्यस क्षेत्रमा वस्ति स्थापित गर्न दुर्गम गाउँका नागरिकले माग गरेका छन् ।
स्कुल आउन ५÷६ घण्टा पैतल हिडेर आउनु पर्ने, कच्ची मोटरबाटो सम्म आउन १४÷१५ घण्टा हिडेर आउनु पर्ने, बिरामी तथा सुत्केरी महिलालाई स्वास्थ्य चौकि बोकेर ल्याउन १४÷१५ घण्टा समय खर्चनु परेपछि समयमा सुरक्षित प्रसुती सेवा पाउन नसक्दा ज्यानै जाने जस्ता घटना पटक पटक दोहोरिरहने भएपछि बिकासको पहुँच बाहिर रहेका नागरिकले आफुहरूको वस्तिलाई नै अन्यत्र ठाँउमा सार्न माग गरेका हुन् ।

प्रकाशित मिति : २५ आश्विन २०७५ बिहिबार ००:००  ३ : ०७ बजे