गीता अर्याल, कपिलवस्तु ।
चाडपर्वमा दैनिक उपभोग्य बस्तुको खपत बढि हुने भन्दै वाणगंगा नगरपालिकाले चारनम्बर बजार क्षेत्रका पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा होटलमा विक्री गर्न राखेका म्याद गुज्रेका पेय पदार्थ तथा अखाद्यबस्तुको अनुगमन टोलीले नष्ट गरेको छ । अनुगमनका क्रममा होटलले सजाएर राखेका कोकाकोला कम्पनीका कोक, फेन्टा र स्प्राइटहरुको म्याद गुज्रेको भेटिएको थियो ।
त्यस्ता पेय पदार्थको खान योग्य अवधी ३ महिना भएतापनि ७ महिना अघिका म्याद गुज्रेका कोकाकोला, फेन्टा र स्प्राइट विक्रीका लागि राखेको वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बताए । बजारमा गुणस्तरहीन खाद्यपदार्थ विक्री वितरणले उपभोक्ता हैरानी खेप्नुपरेको जनगुनासो बढेपछि अनुगमन गरिएको उपमेयर अर्यालले बताएका छन् ।
अनुगमनमा चारनम्बर बजार क्षेत्रका अधिकांश पसलहरु नगरपालिकामा दर्ता नभएका, मूल्यू सूची नराखेका, होटलको सरसफाई नगरेको, खुल्ला रुपमा उपभोग्य बस्तु विक्री वितरण गरेको र सडेगलेका फलफुलहरु पाइएकोले सवै पसलहरुलाई तत्काल आवश्यक मापदण्ड पुरागर्न सचेत गराइएको वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । मरासिनीका अनुसार वाणगंगा नगरपालिकामा नियमित बजार अनुगमनले पसलहरुले विगतमा भन्दा केही सुधार गरेको समेत जानकारी दिए ।
अनुगमनमा होटल व्यवसायीले मासुजन्य उपभोग्य बस्तु र पेय पदार्थ एउटै फ्रिजमा राख्दा स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले त्यस्ता सामानहरुलाई अलग अलग राख्न सुझाव दिइएको पशु चिकित्सक रुप नारायण श्रेष्ठले जानकारी दिए । अनुगमन टोलीले होटल, दुधडेरी, फलफुल, भेटनरी तथा मेडिकल पसलहरुको पनि अनुगमन गरेको हो ।
अनुगमनमा मेडिकल पसल इजाजत पत्र अनुसार संचालन नरहेको समेत पाइएको थियो । इलाका प्रशासन कार्यालय वाणगंगा, वाणगंगा नगरपालिकाका प्रतिनिधी, उद्योग व्यवसायी, पत्रकार, प्रहरी लगाएतको अनुगमन टोलीले चारनम्बर बजार क्षेत्रका ४३ वटा पसलहरुको अनुगमन गरेको थियो ।
प्रतिक्रिया