अजय मिश्र, कृष्णनगर ।
पहिला निकै चलनचल्तीमा रहेको दाङको सिमासंग जोडिएको एक भन्सार नाका आजभोली सुनसान जस्तै भएको छ । दाङ्गको गढवा गाउँपालिका ८ कोइलाबासको भन्सार नाका पहिले जस्तो चालु हुन नसक्दा आजभोली त्यस क्षेत्रका बासीन्दाको जनजीवन कष्टकर बन्दै गएको छ । सिमा क्षेत्रको बजार आसपास खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक जस्ता समस्या धेरै रहेको बताइएको छ । कोइलाबासमा रहेका विद्यालय, मदरसाको भवन जिर्ण हुँदा बालबालिकाको पठनपाठन समेत प्रभावित भएको छ ।
सिमा क्षेत्रको बजारमा अति आवश्यक पूर्वाधार समेत नहुँदा नेपाल प्रहरीका जवानहरुले पनि खानेपानीको भवन प्रयोग गर्दै आएका छन् । भारतको सशस्त्र सीमा सुरक्षा बलको क्याम्पबाट नेपाल स्थित सशस्त्र प्रहरी बलले पाइप मार्फत पिउने पानीको व्यवस्था गरी ल्याएका देखिन्छ । उक्त भन्सार नाकामा कुनै व्यापार नहुँदा तथा सुनसान हुँदा आर्थिक गतिविधी हुन सकेको छैन ।
त्यस क्षेत्रका बासीन्दा आधारभूत अवश्यकताका सामानहरु खरिद गर्न पूर्णरुपमा भारतीय बाजारमा निर्भर छन् । सरकारी कार्यलय विद्यूत, विद्यालय, वन र अन्य सरकारी कार्यलय संचालनमा छैनन् । अहिले यी कार्यक्रम जीर्ण अवस्थामा छन । त्यस नाकाको सडम भत्किएको छ भने पहिलेदेखि नै बसोबास गर्दै आएका घरहरु पनि भत्किने अवस्थामा पुगेका छन् ।
द्वन्दकालमा क्षति भएको प्रहरी चौकीपनि हालसम्म निर्माण हुन सकेको छैन । उक्त नाकामा जंगलको भुभाग पर्ने हुँदा आवातजावतमा डरत्रास समेत हुने गरेको छ । कुनै प्रकारको उपचार गराउन परे भारतको भरपर्नु बाहेक कुनै बिकल्प बनेको छैन । त्यहा प्रत्येक दिन जसो भारतीय बाटो प्रयोग गरेर सयौको संख्यामा मानिसहरु घुम्न आउने गरेका छन् । तर त्यसका लागि पूर्वाधार र आर्थिक गतिविधिका सम्भावनालाई सरोकारवालाले ध्यान दिन जरुरी देखिन्छ ।
प्रतिक्रिया