८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेशका १७ हजार बालबालिका अझै विद्यालय बाहिर



बुटवल ।
प्रदेश ५ का १२ जिल्ला अन्तर्गत रहेका बालविकास केन्द्रमा २ लाख १३ हजार ६ सय ११ बालबालिका अध्ययनरत छन । तर, ती सबै माथिल्लो कक्षामा पुग्र्दैनन । यहाँस्थित सामाजिक विकास मन्त्रालयका अनुसार अझै १७ हजार पढ्ने उमेरका बालबालिका विद्यालय बाहिरै छन् ।
तामझामपूर्ण भर्ना अभियानले उनीहरूलाई आकर्षित गरेको छैन । आर्थिक र सामाजिक अवस्था कमजोर भएकालाई सहयोग पुग्ने गरी भर्ना अभियान नचलाउँदा सबैलाई शिक्षाको पहुँचमा ल्याउन नसकिएको हो ।
बालविकास केन्द्रमा गएकामध्ये सबै कक्षा १ मा भर्ना भएका छैनन् । केन्द्रमा भर्ना भएका १९ प्रतिशत बालबालिका कक्षा १ मा भर्ना नभएको तथ्यांकमा उल्लेख छ । प्रदेशमा ५ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ लाख ८५ हजार २ सय ८९ बालबालिका छन । त्यसमध्ये ९४ प्रतिशत बालबालिका मात्रै विद्यालय जान पाएका छन । करिब ६ प्रतिशत बालबालिका विद्यालयबाहिर छन ।
प्रदेशमा १३ वर्षदेखि १६ वर्षसम्मका ४ लाख ८२ हजार ८ सय ८७ बालबालिका छन । यो उमेर समूहमा आउँदा आधारभूत तह पूरा गरेका १ लाख ९५ हजार ५ सय ६९ बालबालिका माध्यमिक तहमा गएका छैनन । प्रतिशतका हिसाबले ४० दशमलव ५ प्रतिशत बालबालिकाले मात्रै मावि तहमा पढ्ने अवसर पाएका छन । करिब ५९ दशमलव ५ प्रतिशत बालबालिकाले मावि तह पढ्ने अवसर नै पाएका छैनन ।
विद्यालयको पहुँच बाहिर रहेकालाई आकर्षित गर्न स्थानीय तहले चालु आर्थिक वर्षमा पुनः पूर्ण भर्ना अभियान सञ्चालन गरेका छन । यस अभियान अन्तर्गत छुटेका बालबालिकालाई विद्यालय ल्याउने कार्यक्रम चलाएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । विपन्नलाई खाजा, पोसाक र स्टेसनरी सहयोग गरेर समेत विद्यालय ल्याउने कोसिस गरेको उनले दाबी गर्नुभयो ।
प्रदेश सरकारले यहाँका १ सय ९ वटै तहलाई जिम्मेवार बनाउन फरक खालका अभियान चलाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७५ बिहिबार ००:००  २ : २१ बजे