काठमाडौँ ।
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ ।
उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिप फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ ।
मङ्गलबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो । खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले हार बेहोर्न बाध्य बनेको थियो ।
प्रतियोगितामा आयोजक बङ्गलादेश सहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी सात राष्ट्रको सहभागिता रहेको छ ।
नेपाल सहित बङ्गलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । च्याम्पियनसिपमा समूहको शीर्ष दुई टोलीले अन्तिम चार भित्र (सेमिफाइनल) स्थान बनाउनेछन् ।
नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।
२१ भाद्र २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया