५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रकाण्डलाई फेरी दाङ लगियो, भोजपुर अदालतबाट धरौटीमा रिहा



दाङ ।
नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेलगत्तै प्रहरीले फेरि पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिहा गरिएपश्चात् पुनः पक्राउ गरी बुधबार नै दाङ लगिएको छ ।
प्रकाण्डलाई बिभिन्न स्थानमा सामाजिक अपराध गरेकोे भन्दै पक्राउ गरिएको थियो । ती अपराध बापत उनले ६० हजार नगद धरौटी बुझाएपछि रिहा गरिएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिनुभयो ।
उता रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका जिल्ला स्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका माडीगाउँपालिका घर्तीगाउँका देवबहादुर वली ‘दिनेश’लाई इलाका प्रहरी कार्यालय घर्तीगाउँले पक्राउ गरेको हो । भदौ १६ गते घर्तीगाउँबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका ईन्चार्ज राजकुमार पहाडीले जानकारी दिनुभयो ।
पक्राउ गरिएका दिनेशलाई भदौ १७ गते सार्वजनिक अपराध सम्बन्धि मुद्दा लगाइएको छ । १५ दिने म्याद थप भई अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरिक्षक सुदर्शन पन्थीले बताउनुभयो ।
विस्फोटको घटनामा संलग्न रहेको आरोपमा अदालतबाट वारेन्ट जारी गरिएका दिनेशलाई घर्तीगाउँ बजारबाट पक्राउ गरिएको हो ।
संघीय र प्रदेशसभा निर्वाचनको प्रचारमा गाउँ पुगेका तत्कालीन माओवादी केन्द्रका नेता एवं उम्मेदवार बर्षमान पुनलाई लक्षित गरिएको विस्फोटको घटनामा उनीलगायत संलग्न रहेको आरोप लगाइएको थियो । चुनावी प्रचारमा गाउँ पुगेका नेता पुन चढेको गाडीलाई लक्षित गरी माडीगाउँपालिका–१ भिताबाङमा विस्फोट गराइएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७५ बिहिबार ००:००  २ : ०१ बजे