मायादेवी अनलाइन, तौलिहवा ।
प्राचीन कपिलवस्तु राज्य अन्तरतको पुरातात्विक स्थल कुदान विदेशी बौद्धमार्गीहरुको पवित्र आस्थाको केन्द्र बनेको छ ।
करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको कुदान क्षेत्रमा पछिल्लो समय वर्षायाममा वर्षाबास बस्न बौद्धमार्गीहरु आउने गर्छन् । यस वर्ष पनि हरेक वर्ष जस्तै साउन ११ गते पूर्णिमाका दिनदेखि थाइल्याण्डका बौद्धमार्गीहरु वर्षाबासका लागि आएका थिए ।
भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कँदा पिता राजा शुद्धोधनले पहिलो पटक गौतम बुद्धलाई कुदानमा नै भेट गरेका थिए । बुद्धधर्म ग्रन्ध अनुसार कुदानलाई निग्रोधाराम नामले चिनिन्छ । बुद्ध धर्मावलम्बीहरुका लागि यो अति नै पवित्र स्थल हो । यसै कारण हरेक वर्ष विभिन्न देशका हजारौ बौद्ध धर्मावलम्बीहरु यस क्षेत्रमा वर्षाबासका लागि ध्यान गर्न आउने गरेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले बताउनुभयो ।
हरेक वर्ष वर्षायाममा बौद्धमार्गीहरु यहाँ ३ महिनाका लागि वर्षाबासका लागि आउने गरेका छन् । साउन महिनाको पूर्णिमाबाट वर्षाबास सुरु हुन्छ । वर्षाबासका समयमा बौद्धमार्गीहरु आफूले ९ महिनामा गरेका गल्ती, कमी–कमजोरीलाई पश्चाताप गर्ने, सर्वसाधारणको घरमा गई भिक्षा मागेर खाने, बौद्ध ध्यान बस्ने, बौद्ध पूजा पाठ गर्ने, जीवजन्तुलाई नकुल्चने जस्ता कर्महरु गर्छन् । ३ महिनासम्म वर्षाबास बसेका बौद्धमार्गीहरुलाई उनका उपासकहरुले वर्षाबासपछि दैनिक उपभोग्य हरेक सामाग्रीहरु दान गर्ने गर्छन् ।
चिनियाँ यात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरेपछि कुदानमा राजा शुद्धोधनलाई दर्शन दिई यशोधरा, प्रजापति र राहुललगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराइएको पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ । त्यस्तै देबदत्त र सिद्धार्थबीच हाँसको विषयलाई लिएर बिबाद हुँदा यसै स्थानमा न्याय दिइएको बौद्धकालीन इतिहासमा उल्लेख गरिएको छ ।
यति ठूलो धार्मिक महत्व भए पनि यहाँ रहेको ठूलो भग्नाअवेशष उचित संरक्षणको अभावमा रहेको छ । भग्नावशेषहरुमा भएका पुराना तथा कलात्मक बस्तुहरु घामपानीका कारण हराउन थालेका छन् । कुदान क्षेत्रमा रहेको ऐतिहासिक पोखरी पनि संरक्षण हुन नसक्दा पुरिँदै गएको छ । तर कुदान क्षेत्रको संरक्षणका लागि लुम्बिनी विकास कोषले खासै चिन्ता र चासो देखाएको छैन् ।
जिल्लाका समग्र बौद्धस्थलहरुको विकास र प्रचार प्रसारको प्रमुख जिम्मेवारी सरकारले लुम्बिनी विकास कोषलाई दिएको भए पनि स्थानीय तहबाट पनि यसको संरक्षण एवं प्रचार प्रसारमा आफूहरु जुटेको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले बताउनुभयो ।
सरकारले लुम्बिनी विकास कोषलाई विशेष योजना, नीति, कार्यक्रम र बजेट खर्च गर्ने अख्तियारी दिएको भए पनि स्थानीय तह भएका कारण आफूहरुले पनि अपनत्व ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।
गएको आर्थिक वर्षबाट कपिलवस्तु नगरपालिकाका कुदानलगायत तिलौराकोट, गोटिहवा, निग्लिहवा बौद्ध स्थलहरु पुग्न फराकिलो कालोपत्रे सडक निर्माण तथा अन्य पर्यटकीय विकासका कामहरु गर्न प्रति वर्ष ५० करोड रुपैयाँको काम अघि बढिसकेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताउनुभयो ।
प्रतिक्रिया