मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुका ६ नगरपालिका मध्ये कृष्णनगर नगरपालिकाले मात्र आफ्नो लक्ष्य अनुरुपको आन्तरिक राजश्व उठाउन सफल भएको छ । बाणगंगा, बुद्धभूमि, शिबराज, महाराजगञ्ज र कपिलवस्तु नगरपालिका आफ्नो लक्ष्य अनुरुपको राजश्व उठाउन असफल भएका छन् ।
गत आव ०७४÷०७५ मा १ करोड ७७ लाख राजश्व उठाउने लक्ष्य राखेको कृष्णनगर नगरपालिकाले २ करोड ५ लाख राजश्व संकलन गरेको छ । लक्ष्य भन्दा बढी २८ लाख राजश्व संकलन गरेको कृष्णनगर नगरपालिकाले जनाएको छ । सिमा क्षेत्रको नगरपालिका भएकाले लक्ष्य भन्दा धेरै उठेको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । कृष्णनगरले चालु आव ०७५÷०७६ मा ३ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।
६ वटा नगरपालिका मध्ये सबैभन्दा बढी ५ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको बाणगंगा नगरपालिकाले गत आवमा २ करोड २६ लाख मात्र राजश्व संकलन गरेको छ । जसमध्ये मालपोत तथा भूमि करबाट २४ लाख ८९ हजार, घर जग्गा करबाट २६ लाख ३८ हजार, बहाल बिटौरी करबाट ५ लाख ५० हजार, ब्यवसाय करबाट २ लाख ३३ हजार, बहाल करबाट १ लाख ८५ हजार रुपैया उठेको छ । त्यसैगरि नक्सा दस्तुरबाट ४२ लाख १९ हजार, सिफारिस तथा बक्सौनी दस्तुरबाट ६१ लाख ४८ हजार, नाता प्रमाणित दस्तुरबाट ७ लाख ६४ हजार राजश्व संकलन भएको नगरपालिकाका लेखा अधिकृत गोबिन्द आचार्यले जानकारी दिनुभयो ।
चालु आवमा बाणगंगा नगरपालिकाले पुनः ५ करोड ७० लाख राजश्व उठाउने लक्ष्य राखेको छ । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीका अनुसार करको दर कम हुनु, कर तिर्नुपर्छ भन्ने अभियान प्रभावकारी नहुनु, अनुमान बढी राख्नु र नयाँ नयाँ नगरपालिकालाई कर ब्यवस्थापनमा अलि बढि ज्ञान नहुँदा लक्ष्य अनुसार राजस्व उठाउन नसकिएको उनले बताए ।
बुद्धभूमि नगरपालिकाले ३ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेपनि लक्ष्य अनुरुपको राजश्व उठाउन सकेको छैन । ३ करोड लक्ष्य मध्ये गत आवमा ५० प्रतिशत मात्र राजश्व उठाउन सकेको छ । बुद्धभूमि नगरपालिकाले चालु आवमा २ करोड ७६ लाख राजश्व उठाउने लक्ष्य राजश्वका रामबृक्ष चौधरीले जानकारी दिए ।
शिबराज नगरपालिकाले पनि लक्ष्य अनुरुपको राजश्व उठाउन सकेको छैन । गत आवमा ३ करोड राजश्व उठाउने लक्ष्य राखे पनि अहिले १ करोड ७६ लाख २० हजार मात्र राजश्व उठाएको छ । चालु आवमा पनि शिवराज नगरपालिकाले ३ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।
महाराजगञ्ज नगरपालिकाले पनि लक्ष्य अनुरुपको राजश्व संकलन गर्न असफल भएको छ । नगरपालिकाले गत आवमा ९९ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्य भन्दा आधा पनि राजश्व उठाउन नसकेको पाइएकोछ ।
महारागञ्ज नगरपालिकाले जम्मा २७ लाख मात्रै राजश्व संकलन गरेको लेखा अधिकृत होमनाथ पौड्यालले जानकारी दिए । चालु आवमा बर्ष ७५÷७६ मा १ करोड १० लाख उठाउने लक्ष्य राखेको छ ।
जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भनेर चिनिने कपिलवस्तु नगरपालिका पनि लक्ष्य अनुरुपको राजश्व उठाउन असफल भएको छ । गत आवमा राखेको १ करोड ९३ लाख आन्तरिक राजश्व उठाउने लक्ष्य मध्ये यो नगरपालिकाले १ करोड ६३ लाख उठाएको छ । चालु आवमा ३ करोड ३२ लाख १० हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको लेखा अधिकृत बलराम न्यौपानेले जानकारी दिए ।
जिल्लामा कृष्णनगर नगरपालिका बाहेका अरु ५ वटा नगरपालिकाले लक्ष्य अनुरुपको आन्तरिक राजश्व संकलन गर्न नसक्नुले विकास निर्माणमा काम समेत प्रभावित भएका छन् । साथै जनप्रतिनिधिको क्षमता माथि पनि प्रश्न चिन्ह खडा भएको सरोकारवाला बताउँछन ।
प्रतिक्रिया