एजेन्सी ।
इंग्ल्याण्डको शीर्ष डिभिजनको फुटबल इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सन् २०१८–१९ शनिबारदेखि सुरु भएको छ ।
म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीको खेलसँगै प्रिमियर लिगको ९ महिने सिजन सुरु भयो । घरेलु मैदान ओर्ल्ड ट्राफोटमा विश्व विजेता फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाको प्रेरणामा युनाइटेडले लेस्टरलाई २–१ गोलले हराउँदै लिगमा सुखद सुरुवात गरेको छ ।
खेल सुरु भएको तेस्रो मिनेटमा नै पाउल पोग्बाले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लेस्टरका ड्यानियल अमाटीले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई पोग्वाले सदुपयोग गरेका थिए ।
पहिलो हाफमा अग्रता बनाएको युनाइटेडका लागि ८३औं मिनेटमा इंग्लिस डिफेण्डर लुक शले अग्रता दोब्बर बनाए । उनले जुहाँन माटाको पास सदुपयोग गरेका थिए ।
खेलको इन्ज्यूरी समयमा लेस्टरका लागि जेरेमी भार्डीले सान्त्वना गोल फर्काए पनि खेलमा फर्कन ढिला भइसकेको थियो ।
गत सिजन म्यान्चेस्टर युनाइटेडले दोस्रो तथा लेस्टरले नवौं स्थानमा रहेर लिग सकाएका थिए । लिगमा आज ६ खेलहरु हुनेछन् । साँझ सवा पाँच बजे न्युकासल र टोटनह्याम भिड्नेछन् ।
त्यस्तै पौने ८ बजे ४ खेलहरु हुनेछन् । बर्नमाउथ र कार्डिफ सिटी, यसै सिजन बढुवा भएको फुलह्याम र क्रिष्टल प्यालेस, हडर्स्फिल्ड टाउन र चेल्सी तथा वाटफोर्ड र ब्राइटन भिड्नेछन् । त्यस्तै राति सवा १० बजे ओल्भरह्याम्टन र एभर्टनबीच प्रतिस्पर्धा हुनेछ ।
२६ श्रावण २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया