मायादेवी अनलाइन, भैरहवा ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा मात्रै रहेको सो प्रणालीलाई विस्तार गर्ने लक्ष्यका साथ सरकारले रु ४० लाखभन्दा बढी लगानी गरेर उक्त प्रणाली जडान गर्न लागेको हो ।
सो प्रणाली जडानका लागि अत्यावश्यक उपकरण केही आइसकेको र केही आउने क्रममा छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा मौसम विज्ञान विभागले त्यसका लागि आवश्यक तयारी गरेको हो ।
विभागका महानिर्देशक ऋषिराम शर्माले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडानका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । गौतमबुद्ध विमानस्थल आगामी दश महिनाभित्र सञ्चालनमा आउने भएपछि विभागले पनि मौसमी सूचना प्रणाली स्थापना गरी हवाई यातायातलाई थप सुरक्षित र भरपर्दो बनाउने प्रयास गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हिजो जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गर्नुभएको छ । जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलाई थप विस्तार गर्ने उद्देश्यले मन्त्री पुनको विभागमा भ्रमण भएको हो ।
नेपालमा विगतमा भएका हवाई दुर्घटनामध्ये करीब ९० प्रतिशत मौसमकै कारण हुने भएकाले त्यसलाई पनि हटाउन लागिएको हो । महानिर्देशक शर्माले मुलुकको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको त्यस्तो सूचना प्रणालीलाई गौतमबुद्ध विमानस्थलमा जडान गर्न लागिएको जानकारी दिनुभयो ।
सो विमानस्थलमा पनि मौसमी सूचना संकलन, विश्लेषण गर्ने जनशक्ति र आवश्यक उपकरण जरुरी पर्दछ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हाल ३७ कर्मचारी कार्यरत छन् । विभागले गौतमबुद्ध विमानस्थलका लागिसमेत २० कर्मचारी आवश्यक रहेको भन्दै प्रक्रिया शुरु गरेको छ ।
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमै रहेको विभागको भवनमा पुगेर मन्त्री पुनले काम–कारवाहीका बारेमा जानकारी लिनुभयो । मन्त्री पुनले मौसमी पूर्वानुमान सेवाको क्षेत्र विस्तार गर्दै निजी र व्यावसायिक क्षेत्रलाई समेत सेवा दिने गरी काम गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया