सीताराम चौधरी, कपिलवस्तु ।
सडक दुर्घटनामा घाइते गाईलाई स्थानीय युवाक्लबले उद्धार गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित मुख्य बजारमा घाइते भई छटपटाइरहेको गाईलाई स्थानीय राइजिङ स्टार युवा क्लबले उद्धार गरेको हो ।
छाडा अवस्थामा रहेको गाईलाई मोटर साइकलले चन्द्रौटाको मुख्य बजारमै ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते गाई ५ दिनदेखि सडकमै छटपटाईरहँदा पनि उपचार तथा उद्धारमा कसैले चासो देखाएका थिएनन् । पाँच दिनपछि स्थानीय राइजिङ्ग स्टार युवा क्लबको पहलमा सडकबाट उठाई दुर्गा मन्दिरको भवनमा राखी घाइते गाईको उपचार शुरु गरिएको अध्यक्ष प्रदिप थापाले बताउनुभयो ।
सडकमा छटपटाइरहेको देखेपछि गाईलाई उपचार गरेर बचाउन सकिन्छ भन्ने सोँचले यस्तो पुण्यको कार्य गरेको थापाले बताए । शिवराज नगरपालिका वडा नं. ५ का अध्यक्ष अर्जुन बहादुर पाण्डेको सहकार्यमा क्लबका सदस्य युवाहरुको सहभागितामा सडकबाट गाईलाई उठाई मन्दिर परिसरमा लगि उपचार शुरु गरिएको थापाले बताउनुभयो । घाइते गाई गर्भवती भएको र गाईको गर्भमा रहेको बच्चा मरिसकेकाले बच्चा निकाल्न सके गाईलाई बचाउन सकिने उपचारमा संलग्न पशु चिकित्सकको भनाई छ ।
छाडा चौपायाकै कारण सडक दुर्घटना बढेको स्थानीय बताउँछन् । नगरभित्रका छाडा चौपाया व्यवस्थापन गर्ने जिम्मेवार निकाय नगरपालिका भएपनि नगरपालिकाले समेत यसतर्फ खासै ध्यान नदिएको स्थानीयको आरोप छ ।
२२ श्रावण २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया