काठमाडौं ।
सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार भइन् । एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उक्त उपाधि चुमेकी हुन् । उपाधिसँगै उनले नगद २५ लाख पनि जितिन् ।
त्यसैगरी प्रगति पुन फस्ट रनरअप बनेकी छन् । यससँगै उनले ६ लाख रुपैयाँ प्राप्त गरेकी छन् । सरोज मोक्तान सेकेन्ड रनरअप बनेका छन् । उनले चार लाख रुपैयाँ प्राप्त गरे ।
बुगीवुगीका लागि अनलाइन अडिसन मार्फत देशभरबाट तीन हजार डान्सर सहभागी भएका थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए । त्यसबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट तीन छनोट भएका हुन् ।
अन्तिम राउन्ड दुई सातासम्म चलेको थियो । फाइनल विजेता घोषणा गर्ने दिन नजिकिँदै जाँदा अन्तिम तीन प्रतिस्पर्धी प्रगति, कविता र सरोजका फ्यानहरूले उनीहरूको पक्षमा भोट गर्न विभिन्न कार्यक्रम नै सञ्चालन गरेका थिए ।
एपीवान टेलिभिजनले अन्तर्रा्ष्ट्रिय फे्रन्चाइज बुगीवुगी रियालिटी सो नेपालमा पहिलोपटक आयोजना गरेको हो । भारतको सोनी टेलिभिजन सँगको सहकार्यमा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्रा्ष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू आयोजना गरिरहेको छ । त्यसैको निरन्तरतास्वरूप डान्स रियालिटी सो बुगीवुगी सञ्चालन गरिएको हो । यसलगत्तै नेपाल आइडल सिजन टु पनि सञ्चालन हुँदैछ ।
करिब आठ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए ।
कार्यक्रमको सुरुआतदेखि नै प्रशान्त तामाङ, रोहिया महर्जन र नरेशवीर ठकुरीले कोरियोग्राफी गरेका थिए । विजेता घोषणा कार्यक्रममा नेपाली चलचित्रका हस्तीहरू सुनिल थापा, सरोज खनाललगायत दर्जनौं कलाकारको उपस्थिति थियो ।
नजिकबाट कविता नेपाली
श्री शान्ति विद्याश्रम ललितपुरमा ११ कक्षामा अध्ययन गर्ने सर्लाहीकी कविता नेपाली हाल ललितपुरको पाटनमा बस्छिन् । नाच के हो भन्ने थाहा नपाउँदै नाच्न थालेकी उनलाई हातखुट्टा हल्लाउनु र उफ्रनु नै नाच हो भन्ने लाग्थ्यो । ‘स्टार आर्ट कल्चर’मा सहभागी कविता त्यहीँको गु्रप ‘द अल इन वान’ क्रुमार्फत यही क्षेत्रमा सक्रिय थिइन् ।
आमाबुवाले त नाचबाट केही हुन्न नजाऊ भनेका थिए उनलाई । कहिले सिमेन्टको काम गरेर त कहिले ज्यामी काम गरेर उनका परिवारले उनलाई पढाएका हुन् । अन्तर्जातीय विवाह गरेका कविताका आमाबुवाले उनलाई धेरै पढाउने सपना देखेका छन् ।
मार्सल आर्टकी खेलाडीसमेत रहेकी कविता कलेजकी अब्बल विद्यार्थी पनि हुन् । नाचसँगै पढाइ अघि बढाउने उनको चाहना छ । उनी केही समय अगाडिसम्म मार्सल आर्ट खेल्थिन् । खेल्दाखेल्दै खुट्टामा चोट लागेपछि खेलेर अन्तर्रा्ष्ट्रिय अवार्ड जित्ने उनको चाहना अपूरो भयो । त्यसपछि कवितालाई नाचमै केही गर्नुपर्छ भन्ने लाग्यो । ‘अवार्ड त नृत्यबाट पनि त पाइने रहेछ’, उनले आत्मविश्वास पोखिन् ।
जित्नभन्दा पनि राम्रो सिक्न र अब्बल प्रस्तुति दिन बुगीवुगीमा आएको उनले बताइन् । उनले भनिन्, ‘प्रतिस्पर्धाका लागि यहाँ आएकी थिएँ तर एउटा राम्रो परिवार जोडेर जाँदै छु । यो नै मेरो लागि अमूल्य उपहार हो ।’ -अन्नपूर्ण पोष्ट डटकमबाट साभार
२० श्रावण २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया