८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

शिक्षक सुधार अभियानमा सैनामैना नगरपालिका, विद्यालयलाई आराम गर्ने थलो बनाउने शिक्षक परे चिन्तामा !



बुटवल ।
गत शैक्षिक सत्रमा सैनामैना नगरपालिका सामुदायिक विद्यालयबाट कक्षा ८ मा ३५ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले शैक्षिक सुधारका लागि कडा नीति अवलम्बन गरेको छ । सामुदायिक विद्यालयका शिक्षकको लार्पबाहीले विद्यालयको गुणस्तर खस्एिको निष्कर्ष निकाल्दै शैक्षिक गुणस्तर सुधारको योजना बनाएको हो ।
सैनामैनाका १८ सामुदायिक विद्यालयमा मात्रै सरकारको वार्षिक झण्डै १३ करोड लगानी छ । शिक्षकको तलव सुबिधा र मसलन्द खर्चमा जाने यो रकमको उपलब्धी भने निकै कम भएपछि नगरपालिकाले शिक्षा सुधारमा कडा नीति अवलम्बन गरेको हो । त्यो अभियानमा शिक्षकहरुलाई प्रमुख निसाना बनाइएको छ ।
विहान वेलुका निजी विद्यालयमा पढाउने र सामुदायिक विद्यालयलाई आराम गर्ने थलो बनाइएको भन्दै शिक्षक सुधारमा लागिएको नगरपालिकाले जनाएको छ ।
विद्यालयको शैक्षिक स्तर मापनकै लागि सैनामैना नगरपालिकाले कक्षा ८ को परीक्षा आफै लिएको थियो । जिल्ला शिक्षा कार्यालय, विद्यालय निरीक्षक, कतिपय विद्यालय र धेरै शिक्षकहरु यसको विरोधमा थिए ।
गएको आर्थिक वर्षमा भौतिक पूर्वाधार कमजोर भएका विद्यालयलाई १ करोड रुपैया अनुदान दिएको थियो । त्यस्तै कक्षा कोठामा सिकाई उपलब्धी बढाउने गरी पढाउनका लागि १ करोड लगानीमै कम्प्युटर र प्रोजेक्टरको व्यवस्था समेत नगरपालिकाले गरेको छ ।
नगरपालिकाले विद्यालयमा राजनीति गर्ने, पढाउन अल्छी गर्ने शिक्षकहरुलाई लक्षित गरी दैनिक पाठ्ययोजना, वार्षिक कार्ययोजना बनाएर मात्रै कक्षाकोठामा प्रवेश गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले १८ वटा विद्यालयलाई एक सय ३ सेट प्रजेक्टर र ल्यापटप सेट उपलब्ध गराएको छ । प्रत्येक शिक्षकले कम्तिमा ३ पिरियड प्रजेक्टरको प्रयोगबाट पढाउनुपर्नेछ । प्रोजेक्टरबाट पढाउन शुरु गरेका विद्यालयमा सिकाई उपलब्धीदर बढ्दै गएको शिक्षकहरु बताउछन् ।
प्रजेक्टरबाट कक्षा सुरु भएपछि विद्यार्थी पनि उत्साहित छन् । कितावको पाठ पढ्नुभन्दा चिन र भिजुअल नै देख्दा छिट्टै बुझिने विद्यार्थीहरु बताउछन्
नगरपालिकाले शिक्षकलाई कडाई गरेपछि कतिपय शिक्षक र विद्यालय नै विरोधमा उत्रिएका छन् । प्राथमिक तहको दरबन्दी र कम शैक्षिक योग्यता भएका प्रधानाध्यापक परिवर्तन गर्ने योजना पनि नगरपालिकाको छ । गएको शैक्षिक सत्रमा नगरपालिको ६ वटा विद्यालयलाई गाभेको (मर्ज) छ भने चार विद्यालयको तह घटाएको छ ।
विद्यार्थी संख्या निकै कम भएका विद्यालयलाई नजिकको विद्यालयसंग गाभिएको मेयर कार्कीले बताए । नगरपालिकाले प्रबिधिमैत्री अध्यापन थालेपछि सैनामैनाका शिक्षकहरु कम्युटर सिक्ने तालिममा जुटेका छन् । नगरपालिकाले शैक्षिक सुधारका लागि शिक्षकलाई पाच पिरियड मात्रै पढाए पुग्ने नीति बनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७५ शनिबार ००:००  ७ : २२ बजे