५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कानुनमन्त्री ढकाल भन्छन्, बोल्नेभन्दा पनि काम पहिलो प्राथमिकता हुन्छ



रासस, काठमाडौं ।
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आउँदो असोज २ गते अगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली पछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे देशमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कानून निर्माणले गति लिन नसक्दा संघीय संसद् ‘विजनेश’विहीन भएको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट यसमा विलम्ब भयो भन्ने कुराको प्रश्न उठाउन नदिनेतर्फ आफू लाग्ने र त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।
नसोचेको परिस्थितिपछि आफू यस मन्त्रालयमा आएको बताउँदै उहाँले बोल्नेभन्दा पनि काम नै पहिलो प्राथमिकता हो भन्नुभयो ।
मन्त्री ढकाललाई स्वागत गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले कानून निर्माणका लागि मन्त्रालय अहिले दिनरात नभनी खटिरहेको बताउनुभयो ।
बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली छात्राहरुबारे विवादास्पद अभिव्यक्तिपछि तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो ।
नवनियुक्त मन्त्री ढकाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं ३ बाट निर्वा्चित हुनुभएको हो । नेकपा माओवादी केन्द्र र एमाले एकीकरणसँगै अहिले उहाँ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७५ शनिबार ००:००  ६ : ३५ बजे