८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

संघीय संरचना अनुरुप सामुदायिक बन महासंघ, प्रदेश ५ मा नयाँ नेतृत्व चयन हुँदै



बुटबल ।
सामुदायिक बन उपभोक्ता महासंघको पाँच नम्बर प्रदेशको पहिलो अधिवेशन शुरु भएको छ । संघीय संरचना अनुरुप प्रदेशमा शुरु भएको अधिवेशनले नया नेतृत्व चयन गर्नेछ ।
अधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वतावरण मन्त्री लिला गिरीले समुदायकै संरक्षणले नेपालको बन जोगिएको भन्दै प्रसंसा गर्नुभयो । बनको व्यवस्थापन र संघीय संरचना निर्माणको काम भइरहेको भन्दै उपयुक्त नीति सरकारले लिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष गणेशबहादुर कार्कीले स्थानीय तहमा बन इकाई गठन गरी सामुदायिक र अन्य बन व्यवस्थापनको काम हुनुपर्ने माग गर्नुभयोे । बन र विकास परस्पर बिरोधी हुन नहुने भन्दै उहाले समुदायको विकासमा सामुदायिक बनले महत्वपूर्ण काम गरेको बताउनुभयो ।
बनलाई संबिधानभन्दा बाहिरबाट व्यवस्थापन गर्न खोजिएको भन्दै त्यसो गरिए नेपालको बन एक दशकमै सकिने महासंघले चेतावनी दिएको छ । बनको दिगो व्यवस्थापनका लागि हाल भइरहेको बैज्ञानिक बन व्यवस्थापन सामुदायिक बन नीति अनुरुप आएको महासंले जनाएको छ । बैज्ञानिक बन व्यवस्थापनका नाममा जंगल मास्ने र अनियमितता गर्ने काम भइरहेको आरोप छ ।
बन उपभोक्ता महासंघले प्रादेशिक संरचना तयार गर्दै २२ हजार समूहलाई सरकारले ल्याउन थालेको डिभिजन सम्बन्धी नीति विरुद्ध आन्दोलनमा उतार्ने चेतावनी दिएको छ । प्रदेश नम्बर २ र ३ पछि प्रदेश नम्बर ५ मा अधिवेशन गरिएको हो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा तुल्सीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे, प्रदेश ३ का अध्यक्ष बिनोद सापकोटा, प्रदेश २ का अध्यक्ष शोम शर्मा, महासंघका केन्द्रीय सल्लाहकार अप्सरा चापागाई, उपाध्यक्ष भीम प्रकाश खड्का, महासचिव भारती पाठक, सचिवालय सदस्य बसन्ती अधिकारी, ठाकुर भण्डारी लगायतले बोल्दै बन जोगाउने जिम्मा समुदायमा छाड्न आग्रह गर्नुभयोे ।
बुटवलमा भएको प्रदेश ५ को अधिवेशनले नया नेतृत्व चयन गर्नेछ । प्रदेश ५ मा ३ हजार नौ सय ८९ सामुदायिक बन छन् । ती बनबाट करिव ६ सय ७० प्रतिनिधि अधिवेशनमा सहभागि भएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७५ शुक्रबार ००:००  १ : १३ बजे