५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कांग्रेस पार्टीमा पारदर्शीता नभएको ठहर गर्दै यादव ने क पा प्रवेश



भुपाल थापा, कपिलबस्तु ।
नेपाली कांग्रेस श्रमिक बिभाग कपिलबस्तु संयोजक ढोढे प्रसाद यादवले पार्टीबाट राजिनामा दिई नेकपा कम्युनिष्ट पार्टी (ने क पा)मा प्रवेश गरेका छन् । उनले पार्टीमा पारदर्शीता नभएकोले राजिनामा दिएको बताएका छन् । गत असार ११ गते पार्टी सभापति सुरेन्द्रराज आचार्य समक्ष उनले आफ्नो पदको गरिमा नरहने देखेर राजिनामा दिएको बताए । ‘पार्टीमा पारदर्शीता भएन, एकलौटी तरिकाले चलाउने काम भयो, त्यसकारण राजिनामा दिएको हुँं’ उनले भने ।
बुधबार नेकपामा प्रवेश गरेका यादवले संचारकर्मीसंग कुरा गर्दै दिगो बिकास र समृद्ध नेपालको सपना साकार पार्ने नेकपा पार्टी मात्र भएको दावी गरे । आफु राजनितिक चरित्रको ब्यक्ति भएकोले सच्चा राजनैतिक छबि चाहेको उनले बताए ।
२०५४ सालदेखि निरन्तर कांग्रेसमा प्रबेश गरि बिभिन्न जिम्मेवारीमा रहि कार्य गर्दैै आएपनि लोकतान्त्रिक समाजवादको मुल्य मान्यता, आर्दश र सिद्धान्त अनुरुप पार्टीको केहि अगुवा कार्यकर्ताहरु इमान्दार नभई म नै राज्य हुं भनि नोकरशाही, चरमपुजीवादी, समान्तवादी र अतिवादीको चंगुलमा अप्रजातान्त्रिक र ब्यक्तिवादी सोच र ब्यबहार प्रर्दशन गर्दै आएकोमा उनले रुष्टता प्रकट गरेका छन् ।
यस्तो हर्कतले सामाजिक न्यायमा आधारित समतामुलक समाज निर्माण गरि लोकतान्त्रिक समाजवाद स्थापना हुन नसक्ने परिस्थिती सृजना हुन सक्ने संभावनालाई मध्यनजर गर्दै आफुले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको उनले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
बुद्धमुमि नगरपालिका, ६ कपिलबस्तु स्थायी बसोबास गर्ने यादव श्रमिक बिभाग जिल्ला संयोजक तथा निर्वाचित जिल्ला कार्य समिती सदस्य समेत रहेका बुधबार नेकपामा प्रवेश गरेका (ने क पा)का नेता बिजय प्रकाश जैसवालले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७५ बुधबार ००:००  २ : २९ बजे