काठमाडौं ।
मुख्य विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन गरिने उहाँले बताउनुभयो ।
काठमाडौंमा दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन हुनेछ । शान्ति बाटीकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिवाटीकामै फर्किएर कोणसभा गरिने काठमाडौ जिल्ला कार्यसमितिले जनाएको छ ।
कांग्रेसले नाम राख्न बाँकी पाँचवटा प्रदेशको नाम राख्नुपर्ने र प्रदेश राजधानी तत्काल तोक्न पनि माग गरेको छ । आफू नेतृत्वमा बनेको सरकारकाले गरेको ६५ वर्ष पुगेका नागरिकलाई बृद्ध भत्ता दिने तथा भूकम्प प्रभावित परिवारलाई प्रति परिवार १ लाख रुपैया राहत रकम थप गर्ने निर्णय तत्काल लागू हुनुपर्ने, मिर्गौला, क्यान्सर तथा मुटुको गम्भीर रोग लागेका बिरामीलाई महिनाको ५ हजारका दरले राहत दिने निर्णयलाई पनि निरन्तरता दिनुपर्ने कांग्रेसको माग छ ।
प्रतिक्रिया