७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

आज नेपालीहरुको खीर खाने दिन, रोपाहार असारे हिलोबाट मुक्त हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज साउन १५ अर्थात् नेपालीहरुको खीर खाने दिन । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।
वर्षाको झरीमा भिज्नेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको हो । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् ।
परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । त्यस्तै मंसिर पुणिर्णामा यमरी खाने चलन नेवार समुदायमा छ ।
दूध, घ्यू, भिजाएको चामल, अलैंची तथा सुकमेलको धूलो, कोरेको नरिवल, सजाउनका लागि काजु, काजी बदाम, किसमिस, केशर तथा स्वादअनुसार चिनी राखेर खिर पकाइन्छ ।
खीर पकाउन सबैभन्दा पहिले एउटा भाँडोमा दूध उमाल्ने। दूध उम्लिएपछि भिजाएर राखेको चामल हालेर विस्तारै चलाईरहने । जबसम्म चामल र दूधको मिश्रण मिल्दैन तबसम्म चलाईरहने्र दूध र चामल लपक्क मिलेपछि चिनी र दुई चम्चा घिउ हाल्ने। त्यसमा अलैंची र सुकमेलको धूलो तथा कोरेको नरिवल राखेर चलाउने । त्यसपछि एउटा बाउलमा खीर खन्याएर काजु, किसमिस, काजी बदाम तथा केशरले सजाउने । तयार भएको खीरलाई तीजको दरका रूपमा तात्तातै वा चिसो बनाएर खान सकिन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०७५ मंगलबार ००:००  २ : ०९ बजे