५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अबको एक बर्षमा कपिलवस्तु साक्षर घोषणा हुन्छ : प्रदेश सांसद पन्थी



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश ५ का सांसद विष्णु पन्थीले अबको एक बर्षमा कपिलवस्तुलाई साक्षर जिल्ला घोषणा गरिने बताउनु भएको छ । प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तु शिक्षामा पछि परेको भन्दै २०७६ सालभित्र जिल्लालाई पूर्ण रुपमा साक्षर घोषणा गरिने बताउनु भएको हो ।
द लिप्रोसी मिसन नेपाल नामक गैर सरकारी संस्थाले आज वाणगंगा ४ जितपुरमा आयोजना गरेको छात्रवृत्ती वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पन्थीले आधारभूत शिक्षा हासिल गर्नु सवैको अधिकार भएकोले जिल्लाका सवै वर्ग तथा समुदायले शिक्षा हासिल गर्न सके मात्र आगामी वर्षभित्र जिल्लालाई पूर्ण रुपमा साक्षर जिल्ला घोषणा गर्न सकिने औँल्याउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पन्थीले जिल्लालाई साक्षर बनाउने अभियानमा बच्चीआमा फाउण्डेसन तथा लिप्रोसी नेपालले खेलेको भूमिका प्रसंसनीय भएको बताउनु भयो ।
लिप्रोसी नेपालले जिल्लाका आर्थिक अवस्था कमजोर भएर आधारभूत शिक्षा पनि हासिल गर्न नसकेका विपन्न, गरिब, दलित तथा पछि परेका २९ बालबालिकालाई जनही १८ हजारका पाँच लाख २२ हजार छात्रवृत्ती वितरण गरिएको थियो ।
कार्यक्रममा लिप्रोसी नेपालका कन्ट्री डाइरेक्टर तथा बच्ची आमा फाउण्डेसनका संस्थापक शोभाखर कंडेलले आफूहरुले प्रदान गरेको छात्रवृत्ती सही ठाउँमा सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
कँडेलले बच्ची आमा फाउण्डेसनले आर्थिक अवस्था कमजोर भएका देशभरका ६ सय विपन्न तथा कुष्ठरोग प्रभावित बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेका भन्दै त्यसमा कपिलवस्तुका बालबालिकालाई उच्च प्राथमिकता दिएको बताउनु भयो । संस्थाले जिल्लाका कुष्ठरोग प्रभावित तथा अन्यलाई उचित स्वास्थ्य सेवा दिइरहेको पनि बताउनु भयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले प्राप्त भएको रकम सही ठाउँमा सदुपयोग गर्न आग्रह गर्दै नगरभित्रका सवै विपन्न वर्गहरुलाई आफूहरुले पनि सहयोग गर्ने बताउनु भयो । नगरभित्रका कतिपय स्थानका बालबालिका अझै पनि आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट वञ्चित हुनु परेका कारण त्यसलाई आगामी वर्षसम्म कम गर्ने दाबी गर्नु भयो ।
छात्रवृत्ती कार्यक्रममा वाणगंगाा नगरले सहकार्य गरेको थियो । मेयर थारुको अध्यक्षता वाणगंगा स्वास्थ्य शाखाका कार्यक्रम संयोजक कमल ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरे, जनता मावि पिपराका प्राचार्य रमेश पन्थी लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७५ शनिबार ००:००  ४ : ३९ बजे