मायादेवी अनलाइन, बुटवल ।
सेवा–सुविधा वृद्धि लगायतका विभिन्न माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि निर्धन उत्थान बैंकको कारोबार ठप्प भएको छ । अखिल नेपाल संघसंस्था तथा बैंक वित्तीय संस्था निर्धन उत्थान कर्मचारी समितिको अगुवाईमा निर्धनका कर्मचारीहरु १० दिनदेखि आन्दोलनमा छन् ।
उनीहरुले बैंकको नियमावली संशोधन, कर्मचारी समायोजन, सरुवा बढुवाको नयाँ मापदण्ड लगायतका माग राखेका छन् । बैंकका एक सय भन्दा बढी शाखा कार्यालय आन्दोलनका कारण ठप्प हुँदासमेत व्यवस्थापनले मागबारेमा बेबास्ता गरेको समितिका महासचिव रामबाबु रानाभाटले बताउनुभएको छ ।
आन्दोलनका कारण बैंकको कर्जा असुली समेत ठप्प रहेको कर्मचारीहरुले बताएका छन् । माग पूरा नभएसम्म आन्दोलनबाट पछाडि नहट्ने उहाले बताउनुभयो । असार २६ गतेदेखि आन्दोलन सुरु गरेको समितिले असार ३१ गतेदेखि कारोबार नै ठप्प पार्नेगरी आन्दोलन गरेको हो ।
कर्मचारीहरुले केही दिन अघि बैंकको भैरहवास्थित क्षेत्रीय कार्यालय समेत घेराउ गरेका थिए । देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको निर्धन उत्थान बैंकका रुपन्देहीमा सबैभन्दा धेरै शाखा रहेका छन् ।
बैंकले यस आर्थिक बर्षमा झन्डै ६० करोड खुद नाफा कमाउने बैंकका कर्मचारी बताउँछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले भने निर्धनमा कुनै आन्दोलन नभएको दावी गर्नुभएको छ ।
१० श्रावण २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया