चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
अहिले सामाजिक सञ्जालमा कपिलवस्तुका एक बालक भाइरल भइरहेका छन् । उनी हुन् वाणगंगाा नगरपालिका ४ जितपुरमा बस्ने अविरल पोख्रेल । उनी होराइजन आवासिय मावि सिद्धिपुरमा अध्ययन गर्छन् । उनी उमेरले १२ बर्षका छन् । कसैले उनलाई दैवी शक्ति भएको अनौठो बालक भनिरहेका छन् त कसैले उनलाई भगवानको अर्को रुप भनेका छन् । त्यति मात्र होइन अविरल एक अदृश्य शक्ति भएका अद्भूत क्षमता भएको बालक भनेर पनि चौतर्फी चर्चा भइरहेकोछ ।
फेसबुक, ट्विटर, युटुव,इन्स्टाग्राम सबैमा उनैको चर्चा छ भने उनको अन्तरवार्ता लिइएको भीडियो युटुभमा ट्रेन्डिङमा परेको छ । केही युटुव च्यानल उनलाई प्रयोग गरेर मोटाएका पनि छन् । चर्चित टेलिभिजन कार्यक्रम “सिधा कुरा जनतासंग”का प्रस्तोता रवि लामिछानेले जब आफ्नो २५० औँ भागमा विशेष अतिथिको रुपमा ती बालककलाई न्युज २४ टेलिभिजनमा उभ्याए त्यसपछि पोख्रेलको चर्चा विश्वभर चुलिएकोे छ ।
यो विषय जति चर्चित भएको छ त्यत्तिकै विवादित पनि बन्न थालेको छ । कतिपयले रवि लामिछानेजस्तो चर्चित पत्रकारले यसको दायाँबायाँ पक्ष के हो ? यो कसरी सम्भव भयो?भन्ने बुझ्न सकेनन् भनेका छन् र उनको आलोचना गरेका छन् । कतिपयले आफ्नो कार्यक्रमलाई बढी चर्चित र विशेष गराउने आसयले सो कार्य गर्दा उनी चुकेको भनेर मिडियामा आलोचना पनि भएको छ । कतिपयले भने रवि र ती बालक जो सुँघेर,छामेर सबैचिज पत्ता लगाउन सक्छन् उनको क्षमताको मुक्तकण्ठले प्रसंसा पनि गरेका छन् ।
यसको एउटा कथा यत्तिमा सिमति छ भने अर्को एउटा कथाबारे यतिखेर वहस सुरु भएको छ र जिज्ञासाको विषय पनि छ । त्यो वहस हो भाइरल बनेका अविरलमा त्यो क्षमता वाइ वर्थ थियो या कृत्रिम । वाई वर्थ हो भने उनले जति चर्चा कमाएका छन् त्यसलाई स्यालुट गर्नु पर्छ । अझ यसलाई विश्वभर चिनाउनु पर्छ । यदि त्यो कृत्रिम थियो भने उनले त्यो ज्ञान कहाँ सिके ?त्यो अविरल एक्लैले सिक्ने हो या अरु सपहाठी पनि छन् ? सिकाउने गुरु को हुन् ? कसरी सिके ? यो बिषय किन लुकाइयो ? कतिपय मिडियामा उनले अलिकति खुलाउन खोजे पनि त्यसको बारेमा खासै बाहिर आएको छैन । यसबारे दर्शक श्रोताको जिज्ञासाको आधारमा हामीले सत्य तथ्य बताउन खोजेका छौँ ।
के हो वास्तविकता र रहस्य ?
अविरलको क्षमतालाई हामी पनि स्यालुट गछौँ । आँखा छोपेर स्पर्श र सुघाइको भरमा जुनसुकै कुरा पनि चिन्न सक्ने उनको क्षमतालाई मान्नैपर्छ । तालिम नै लिएको हो भने पनि त्यस्तो क्षमता विरलैसंग हुन्छ । कक्षामा पनि धेरै विद्यार्थी मध्ये ३ जना प्रथम,द्धितीय र तृतीय भएजस्तै त्यस सिकाईको कोर्ष लिए पनि अविरलले जस्तै भन्न सक्ने कम हुन सक्लान् । त्यसकारण त्यो अविरलको क्षमतालाई हामी सम्मान गछौँ ?
तर कतिपय मिडिया र रवि लामिछानेजस्तो चर्चित सञ्चारकर्मीले बुझ्दै नबुझी उनलाई भगवान वा अर्कै रुप भएको बालक ,दैवी शक्ति भएको बालक भन्नु ठिक छ या वेठिक ? अद्भूत र अनौठो बालक भनेर जुनजुन विशेषणहरु दिइरहेका ती विशेषषणहरु कतै आलोचित र टिप्पण्ीयुक्त त छैनन् ? अविरलले सिकेको बिषयमा जुन कुरा लुकाईएको छ त्यो खोजको विषय छ । सबैमा जिज्ञासाको बिषय बनेको छ ।
खोज–स्मार्ट सेन्सर एनहान्समेन्ट कोर्ष
अविरल जुन कुराले चर्चित भए, त्यसमा यस्तो रहस्य लुकेको छ । त्यो सिकाईबाट प्राप्त हुने उपलब्धि हो । यो सामान्य बालकले पनि सिक्न सक्ने बिषय रहेछ । यो सिमित उमेर समुहका व्यक्तिले सजिलै सिक्न सक्छन् । यो कोर्षको विषयमा देश बाहिर अध्यापन हुने तर नेपालमा सिमित स्थानमा पढाई भएको र बाहिर नआएको हुनाले अनौठौ लाग्नु स्वाभाविक पनि हुन सक्छ ।
स्पर्श र सुघाईबाट हरेक कुरा चिन्न र ठम्याउन सक्ने कोर्षको नाम हो, स्मार्ट सेन्सर एनहान्समेन्ट । यो म्युजिक थेरापी र ध्यानबाट सजिल सिक्न सकिन्छ । कपिल्वस्तुको हकमा यो कोर्षको पढाइ वाणगंगा नगरपालिकास्थित वडा नम्बर ४ दरर्खास्तमा रहेको एभरेष्ट एजुकेशन एण्ड होलिडेजमा हुन्छ । यसलाई सिकाउने प्रशिक्षक भीष्मराज ढुङ्गाना (पुरुष) हुनुहुन्छ । यो तिन महिनासम्म (तिन महिने) कोर्ष हो । फुर्सद भएको बेला यो कोर्ष ६ देखि १३ बर्ष उमेर समुहका बालबालिका जसले पनि लिन सक्छन् ।
सुरुमा यो ९० दिन सिकाइन्छ र त्यसैमा अभ्यास,पृष्ठपोषण,कामको प्रगति सबै हेरिन्छ । यो कोर्ष विहान नौ बजेदेखि सँझ ५ बजेसम्म गरिन्छ । त्यो बीचमा बिभिन्न थेरापीहरु गराइन्छ । सुरुको २ दिनमा पहिलो लेभलका ४ वटा क्लास र विस्तारै यसको अभ्यास गराइन्छ । हरेक १५ दिनमा गरी ३ महिनासम्म यसको पढाई हुने एभरेष्ट एजुकेशन एण्ड होलिडेजका संचालक भीष्मराज ढुङगानाले हामीलाई जानकारी दिनु भयो ।
यस कोर्षंमा जम्मा ६ देखि १३ बर्ष उमेर समुहका उत्तर वाल्यावस्थाका बालबालिका सहभागी हुन पाउँछन् । त्यो भन्दा माथिका उमेर समुहका व्यक्तिले यो कोर्ष लिए पनि त्यो त्यति प्रभावकारी बन्दैन ।
बालबालिकाहरुलाई सिकाईको क्रममा एउटा हलमा राखिन्छ । पहिले बिभिन्न रङको सेन्सको बारेमा अभ्यास गराइन्छ । संगै बालबालिकलाई मेडिटेसन अर्थात् ध्यान गर्न लगाईन्छ । निरन्तरको ध्यानले विद्यार्थीर्को कन्सलट्रेसन पावर बढाउँछ र त्यहाँ विद्यार्थीहरु लिन हुन्छन् । उनीहरुको हत्केला र औँला पनि निकै कोमल र नरम हुने हुनाले उनीहरुलाई निरन्तर अभ्यास गराउँदा विद्यार्थीले बिभिन्न चित्र र रङका बारेमा अनुभूतिको माध्यमबाट थाहा पाउन सक्छन् ।
यसमा पहिले बालबालिकालाई कलर इम्याजिनेशन मेडिटेसन मार्फत् कलर इमेजिन (कल्पना) गर्न लगाइन्छ । यो सिकाइमा केही मात्रामा क्वान्टम थेरीको पनि प्रयोग हुने बताइएको छ । अभ्यासको क्रममा बालबालिकाको आँखा पुरै बन्द गरिन्छ । त्यसपछि बिभिन्न चित्र,अक्षर,किताव,पत्रपत्रिका,व्यक्तिका तस्विर,कपडा,नम्बर,रङ आदि दिएर अभ्यास गराइन्छ । सुरुसुरुमा बालबालिकाले यसमा त्यति मेसो पाउँदैनन् । तर विस्तारै सिकारुले लय समात्ने र अविरलको जस्तो क्षमताको विकास गर्ने गुरु भीष्मराज ढुङ्गानाको भनाई छ ।
उहाँका अनुसार यो कुनै जादु पनि होइन, यो सिक्ने कुनै भगवान पनि हुँदैन, यो कुनै अद्भूत र दैवी शक्ति पनि होइन । यो निरन्तर अभ्यास पछिको परिणाम हो । किनभने पञ्च ज्ञानेन्द्रियमध्ये नाक र छाला पनि एक हो र यसलाई सक्रिय बनाएर यो सफलता हासिल गर्न सकिने उहाँको विश्वास छ । त्यसका केही विशेष प्रविधि र थेरापी छन् । सबै स्थानमा सिकाउन प्राय असम्भव हुन्छ ।
यो कोर्ष लिनेहरुमा अविरल अब्बल र वहुप्रतिभाशाली त छन नै । उनीजस्तै अरु बालबालिकामा पनि त्यस्तै क्षमता भएको प्रशिक्षक भीष्मराजले बताउनु भयो । त्यहाँ सिक्ने कतिपय बालकले त नजिकै बसी सुघेरै मानिसको भित्री वस्त्र जस्तै कमिजभित्रको सेन्डो, टिसर्ट इत्यादिसम्म पहिचान गर्न सक्ने, आँखामा पट्टी बाँधेर खुला र जस्तोसुकै घुमाउरो सडकमा सरर साइकल चलाउन सक्ने इत्यादि अद्भूत कार्य गर्न सक्छन् ।
प्रशिक्षक ढुङगानाले यो प्रविधिमार्फत कतिपय बालबालिकाले ध्यान र थेरापीकै माध्यमबाट एक कोठाबाट अर्को कोठामा रहेका व्यक्तिलाईसमेत पहिचान गर्ने क्षमताको विकास गर्न सक्ने भए पनि आफूहरुले अहिले त्यो कोर्ष अहिले सञ्चालन नगरेको बताउँदै भावी दिनमा त्यसको सुरुवात गर्न सक्ने जानकारी दिनु भयो । सामाजिक सञ्जालमा अतिरञ्जित भएको यो विषयलाई अनावश्यक रुपमा नबुझ्न र भ्रममा नपर्न पनि उहाँको सबैमा आग्रह छ ।
मेरो र संस्थाको नाम आउनु पथ्र्यो– प्रशिक्षक ढुङ्गाना
यो विषय भाइरल बनेपछि हामीले यसको निरन्तर खोज गर्ने सिलसिलामा त्यो बालकका अभिभावक, अविरलले अध्ययन गर्ने न्यू होराइजन आवासिय मावि कपिल्वस्तु र उनका प्रशिक्षक भीष्मराज ढुङ्गानासंग पुग्यौँ । सुरुमा बालकले त्यो प्रतिभा कहाँ सिक्यो ?कसले सिकाउँछ भन्ने बारे कसैले बाहिर ल्याएनन् । यद्यपी रवि लामिछाने समेत यसमा चुके । उनी पनि भ्रममा परे । त्यो विषयमा बालक अविरल र उसका अभिभाव कमल पोख्रेलले केही खुलाउन भ्याएनन् । त्यसपछि हामी अविरलले जहाँ त्यो प्रतिभा सिक्यो । त्यहँँी( एभरेष्ट एजुकेशन तथा होलीडेज) पुग्यौँ र प्रशिक्षक भीष्मराजसंग जिज्ञासा राख्यौँ ।
तपाईको संस्थामा एउटा अद्भूत कोर्ष सिकेर एउटा बच्च देश दुनियाँमा यति भाइरल बन्दा न तपाईको नाम जोडियो नत संस्थाको नाम । यो बिषयमा तपाई के भन्नु हुन्छ ?
उहाँले भन्नुभयो कि– नराम्रो लाग्नु स्वभाविक नै हुन्छ । मैले बालक, अभिभावक र विद्यालयका प्रिन्सिपललाई यो किन गरेको भनेर त भनेको छैन तर पनि केही नरमाइलो भने लागेको छ । उहाँहरुले मेरो नाम नभने पनि संस्थाको नाम भने भन्नुपथ्र्यो ।
उहाँले यस विषयमा पछि अरु कुरा गरौँला भन्नु भयो । यस बिषयमा कुरा भइरहेको समेत उहाँले बताउनु भयो । उहाँहरु अहिले बाहिर हुनहुन्छ, बाहिरबाट आएपछि कुरा गछौँ भीष्मराजले भन्नु भयो । संस्थाका अर्का प्रशिक्षक विष्णु भट्टराईले पनि यो विषय स्वाभाविक भएको बताउनु भयो ।
अरु मिडियाबाट नभएर किन रविसंगबाट यो भाइरल भयो ?
हामी सबैलाई थाहा छ कि रवि लामिछाने अहिलेको पुस्ताका निकै चर्चित पत्रकार हुन् । उनी राजधानीको पानीपोखरीमा रहेको न्युज २४ टेलिभिजनमा वहुचर्चित कार्यक्रम सिधा कुरा जनतासंग चलाउँछन् । उनको यही लोकप्रियताका कारण उनका अभिभावकले लोकप्रियता र बालकको प्रतिभा प्रष्फुटनको लागि रविलाई रोजेको हुन सक्छ । उसो त कपिलवस्तुकै पहिलो सामुदायिक बुद्द्ध आवाज टेलिभिजन र रेडियो बुद्ध आवाज ८९ विन्दु ६ मेगाहर्जले पनि यो सामाग्री पहिलोपटक प्रसारण गरेका थिए । अविरलले २०७५ साल वैशाख ३ गते स्कुलको नतिजा प्रकाशन समारोहमा पनि प्रमुख अतिथिको सामु आफ्नो परिचय अद्भूत ढङगले नै दिएका थिए । उनले त्यहाँ प्रमुख अतिथिको गोजीमा रहेको समवेदना पत्र नहेरी बाचन गरेर सबैलाई अचम्मित पारेका थिए ।
त्यति मात्र होइन उनले प्रमुख अतिथिको मोवाइल नम्बर र पैसाको नम्बर पनि भनेका थिए । तर त्यो कुरा त्यति भाइरल बन्न सकेन । त्यसपछि उनका अभिभावक रवि कहाँ पुगे वा रविले अविरलको त्यो अद्भूत क्षमता थाहा पाएर सिधा कुरा जनतासंगको २५० औँ भागमा लगे । यो भने जिज्ञासामै रहेको छ । धरैले सस्तो लोकप्रियता कमाउन त्यो भएको हुन सक्ने बताएका छन् । अर्को कुरा अविरलका अभिभावकले बालकको प्रतिभालाई गिनिज बुक अफ दि वल्र्डमा लेखाउनको लागि रवि लामिछानेलाई रोजेको बताइएको छ ।
कहाँ कहाँ लिन सकिन्छ ?
ढुङ्गानाले भन्नुभयो– नेपालमा कम मात्रै यस्तो तालिम दिने शैक्षिक संस्था रहेका छन् । जुन कपिलवस्तुमा पनि छ । नेपालमा धनगढी, काठमाण्डौँ, बुटवल लगायतका स्थानमा सिमित व्यक्तिले यो कोर्ष सिकाउने गर्दछन् । हामीकहाँ प्रदेश ५ का बिभिन्न जिल्लाका बालबालिका सिक्न आउने गरेका छन् । ती मध्ये अविरलजस्ता कमै मात्र विद्यार्थी हुन्छन् ।
यो क्षमता संधैभरी हुन्छ त ?
सुँघेर र छामेर हरेक कुरा पत्ता लगाउने क्षमता दीर्घकालिन हुन्छ नै भन्न सकिन्न । उमेरको वृद्धि र परिपक्वतासंगै यसका उपलब्धिहरु विस्तारै कम हुँदै जान्छन्, यदि बीचमा अभ्यास छोडियो भने । सिकाइको दीर्घकालिनतालाई कायम राख्न उमेर वृद्धि संगै अभ्यास र ध्यान पनि निरन्तर हुन जरुरी छ ।
जे होओस् अविरल पा्ख्रेलको क्षमतालाई मान्नै पर्छ । यो बिषय उठान गरेर हामी कुनै विवादित पनि बन्न खोजेका होइनौँ । बालक, अभिभावक र स्कुलको विरोध पनि गरेका होइनौँ । बच्चाको प्रतिभा जन्मजात होइन भने उसका गुरु र सम्बन्धित संस्थालाई किन लुकाउन खोजियो यत्ति मात्र जान्न बुझ्न र यो विषयमा रहेका भ्रमको वास्तविकता खोतल्न खोजेका हौँ । यस विषय र समाचारलाई अतिरञ्जित नबनाउन अनुरोध पनि छ ।
प्रतिक्रिया